काठमाडौं । मोरङको विराटनगर महानगरपालिका—४ मा रहेको मुनलाइट गर्ल्स होस्टलकी सन्चालक मधु रेग्मी कट्वालद्धारा विद्यार्थीहरुलाई हातपात गर्दै दुर्व्यवहार गरेको भिडिओ सार्वजनिक भएको छ ।
होस्टेलमा बसिरहेका विद्यार्थीहरुले अग्रिम रकम दिन नमानेपछि उनले विद्यार्थीहरुका सामान कोठाबाट बाहिर फ्याँक्दै हातपात समेत गरेको बताइएको छ । सामाजिक सन्जालमा पोष्ट भएको एक भिडियोमा होस्टेल सन्चालक मधुले एउटा कोठाभित्र बसेका छात्राहरुसँग तीन—तीन हजार रुपैयाँ पेमेन्ट गरिदिन भनेको देखिन्छ ।
लगत्तै उनी जंगिंदै होस्टेलबाट ‘निस्किहाल्’ भन्दै जाइलागेको देखिन्छ । त्यही कोठाभित्र रहेका अन्य दुई छात्राले रोक्न खोजेको देखिन्छ तर सक्दैनन् । उक्त भिडियो मंगलबार बेलुकाको हो ।
सो होस्टेलको कोठामा विराटनगर नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका खनाल, गिरी र भण्डारी थरका तीन जना विद्यार्थीहरु यही फागुन ३ गतेदेखि बसिरहेका थिए ।
उनीहरुले ३ चैतसम्मका लागि अग्रिम आठ हजार रुपैयाँ बुझाएका थिए । कलेजकै होस्टेलमा बस्नेहरुको सूचीमा भर्खरै उनीहरुको पनि नाम निस्किएको थियो ।
त्यसैले उनीहरु मुनलाइट गर्ल्स होस्टल छाडेर कलेजकै होस्टेलमा सर्ने तयारीमा थिए । ३ चैतसम्मको पैसा तिरिसकेको र त्यसअघि नै कलेजको होस्टलमा जाने बताउँदा बताउँदै पनि होस्टेल सन्चालक मधुले ती विद्यार्थीसँग एडभान्स भन्दै थप तीन—तीन हजार रुपैयाँ मागेपछि उनीहरुले रकम नदिने बताएका थिए । त्यसपछि होस्टेल सन्चालकले हातपात गरेकी थिइन् ।