काठमाडौं । आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका गायक राजेशपायल राईले श्रीमती साङबुङ राईसँग औपचारिक सम्बन्धविच्छेद गरेका छन् । यसै साता उनीहरूले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि मिलापत्र गरेको निकट स्रोतले जनाएको छ ।
सम्बन्धविच्छेदको मुद्दा भने राजेशपायलले हालेका थिए । सम्बन्ध तोड्न साङबुङले उच्च माग गरेकी थिइन् । अन्ततः राजेशपायलले उनको मागहरू पूरा गरिदिएका छन् । जसअनुसार नक्सालमा रहेको राजेशपायलको घर साङबुङले पाएकी छन् । साढे तीन तलाको यो घरको मूल्य करिब ५ करोड पर्ने दाबी गरिएको छ । उक्त घरमा रहेका सबै चिजवस्तुहरू साङबुङकै स्वामित्वमा हुनेछन् ।
यसैगरी राजेशपायलले नगद ५० लाख रूपैयाँ पनि दिएका छन् । साथै, थप १ करोड रूपैयाँ भविष्यमा दिने लिखित प्रतिवद्धता राजेशपायलले जनाएका छन् । यस्तै काठमाडौंभित्रै रहेको एउटा घडेरी पनि साङबुङको भागमा परेको छ ।
राजेश र साङबुङले गत वर्ष साउनतिर पुत्रलाभ गरेपछि विवाह दर्ता गरेका थिए । बिहे दर्ता प्रमाणपत्रमा २०७८ असोज महिनामा उनीहरूको विवाह भएको उल्लेख छ । उनीहरूले काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा गत मंसिर २६ गते विवाह दर्ता गरेका थिए । तर, उनीहरूको सम्बन्ध सुमधुर रहन सकेन । उनीहरूबीच बारम्बार झगडा भइरहन्थ्यो । श्रीमान्ले आफूलाई मदिरा सेवन गरेर कुटपिटसमेत गर्ने गरेको साङबुङले उल्लेख गरेकी थिइन् ।