बैंकक- थाइल्याण्ड भ्रमणमा रहेका सुप्रसिद्ध निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेले थाई नेपाली समाजद्वारा सञ्चालित ‘आदर्श पुस्तकालय’को अवलोकन गरेका छन्। थाई नेपाली संघ, बैंकक शाखा शिक्षा विभागद्वारा बैंककको सियेकवान्खेक क्षेत्रस्थित सामाजिक भवनमा स्थापना गरिएको यस पुस्तकालयको भ्रमणका क्रममा नयाँघरेले थाइल्याण्डका नेपाली साहित्यप्रेमी युवा, विद्यार्थी तथा स्थानीय नेपाली समुदायसँग आत्मीय भेटघाट तथा भलाकुसारी गरेका थिए।
मदन पुरस्कार विजेता साहित्यकार नयाँघरेले प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृति प्रति समर्पित भएर पुस्तकालय जस्तो ज्ञानमूलक अभियान सञ्चालन गरिएकोमा गहिरो प्रसंसा व्यक्त गरे। उनले विशेषगरी नेपाली भाषामा रुचि राख्ने विद्यार्थी, प्रवासी सन्तानहरूका लागि यस्तो पुस्तकालयले दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरे।
पुस्तकालयको अवलोकन गर्न पुग्दा साहित्य मन थाइल्याण्डका अध्यक्ष तथा थाई नेपाली संघ, बैंकक शाखा शिक्षा विभाग प्रमुख ओमप्रकाश न्यौपानेले नयाँघरेलाई विशेष स्वागत गरेका थिए। सो अवसरमा ‘साहित्य मन’ र ‘आदर्श पुस्तकालय’का पदाधिकारीहरूले पुस्तकालयको स्थापना, उद्देश्य र भविष्यका योजना बारे जानकारी गराउँदै उहाँसँग थप सल्लाह सुझाव पनि मागेका थिए। साथै नेपालबाट ल्याउन सकिने उपयोगी साहित्यिक कृतिहरूका बारेमा समेत विचारविमर्श गरिएको थियो।
साहित्य मन थाइल्याण्डका अध्यक्ष न्यौपानेले जानकारी दिए अनुसार, प्रवासी नेपाली समुदायबीच भाषा, साहित्य र सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने उद्देश्यले ‘आदर्श पुस्तकालय’को स्थापना गरिएको हो। उनले प्रवासी सन्तानहरूले नेपाली किताब पढ्न पाउँदा उनीहरूको भाषिक क्षमता र संस्कारप्रतिको बोध अझै प्रगाढ हुने बताए।
पुस्तकालयको प्रवर्द्धन र सञ्चालनमा पुस्तकालय सल्लाहकार रामकुमार ढुंगाना, शिक्षा विभाग प्रमुख ओमप्रकाश न्यौपाने तथा साहित्य मनका सक्रिय पदाधिकारीहरू दीपा राना, डेविड् अल्विन राउत, राज पौड्याल, रविचन्द्र अधिकारी लगायत निरन्तर खटिएका छन्।
यसै सन्दर्भमा नयाँघरेले थाई नेपाली संघको प्रतुनाम उपशाखामा आयोजना गरिएको बसन्त विदाई कार्यक्रममा पनि सहभागी हुँदै मातृभाषा कक्षा अध्ययनरत नेपाली बालबालिकासँग भेटघाट गरेका थिए। उनले विद्यार्थीहरूलाई नेपाली भाषा, साहित्य र प्रवासी चेतनाको महत्वबारे छोटो प्रेरणात्मक सम्बोधनसमेत गरेका थिए।
साहित्यकार युवराज नयाँघरे नेपाली समकालीन साहित्यमा एक विशिष्ट स्थान राख्ने व्यक्तित्व हुन्। इलाममा जन्मनुभएका उहाँले सामाजिक यथार्थ, वर्गीय विभेद, जातीय पहिचान, सांस्कृतिक विविधता र सम्वेदनाको समिश्रणसहितका निबन्ध र नियात्राहरू लेख्दै आएका छन्। उहाँको चर्चित कृति ‘एक हातको ताली’ले २०६५ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो। यसका साथै ‘स्वाहा’, ‘घामको चुम्बन’, ‘काठमाडौँलाई कोर्रा’, ‘डलरको डायरी’, ‘तनक्खा’ जस्ता कृतिहरूले उहाँलाई समकालीन निबन्ध साहित्यमा उच्च स्थान दिलाएका छन्।
‘तनक्खा’ नियात्रा विशेष रूपमा दक्षिण एसियाली मुलुक म्यानमारको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक तथा नेपाली प्रवासी समुदायसँग जोडिएको दस्तावेज हो। बाइस दिनको म्यानमार यात्रामा संकलित अनुभूति, भोगाइ, समाज, जातीयता, युद्ध र विरासतका कथा–व्यथालाई कलात्मक शैलीमा प्रस्तुत गर्दै ‘तनक्खा’ नेपाली नियात्रा विधामा एक महत्वपूर्ण योगदान बनेको छ। नयाँघरेले नियात्राको माध्यमबाट पाठकलाई स्थान, संस्कृति र अनुभवको सजीव यात्रामा लग्ने शैली निर्माण गरेका छन्।
प्रवासमा रहेका नेपाली समुदायसँग प्रत्यक्ष सम्वाद र अनुभव आदानप्रदान गर्दै नयाँघरेले थाइल्याण्डमा नेपाली भाषा-साहित्यको संरक्षण र सम्वर्द्धनका लागि सञ्चालन भइरहेका अभियानहरूलाई अत्यन्तै सकारात्मक र उदाहरणीय पहलको रूपमा लिएका छन्। पुस्तकालयको सफल कार्यान्वयनले आगामी पुस्ता र प्रवासी नेपाली समाजबीच भावनात्मक र भाषिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास पनि उनले व्यक्त गरेका छन्।
