कर्णालीमा बेपत्ता शाहीको खोजी जारी

संवाददाता
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

कैलाली। कर्णालीको पुलबाट नदीमा हामफालेर पौडी खेल्ने क्रममा बेपत्ता भएका ३० वर्षीय लोकेन्द्र शाहीको खोजी कार्य जारी रहेको छ । कैलाली र बर्दिया जिल्ला जोड्ने चिसापानीस्थित कर्णाली पुलबाट फागुपूर्णिमाको दिन दिउँसो १७ जनाले हामफालेका थिए ।

सोमध्ये १६ जना पौडी खेलेर पार भए पनि लोकेन्द्र बेपत्ता रहेका छन् । फागुपूर्णिमाको रमझमपछि मादक पदार्थ सेवन गरेका १७ जना युवाले पुलबाट हामफालेको बताइन्छ ।

उनीहरू पाइन्ट र जुत्तासहित नदीमा हामफालेका थिए ।लम्कीचुहा नगरपालिका–३ का वडाअध्यक्ष लवबहादुर शाहीका अनुसार सशस्त्र प्रहरी, जनपद प्रहरी, स्थानीय युवाको समूहले तीन वटा ¥याफ्टिङ, डुङ्गा प्रयोग गरेर बेपत्ता शाहीको मङ्गलबार बिहानदेखि नै खोजी जारी राखेको छ ।

चिसापानी बजारमा तरकारी पसल गरेर परिवारसँग बस्दै आएका शाही साथीभाइको लहलहैमा सोमबार कर्णाली पुलबाट हामफाल्न पुगेका थिए । कञ्चनपुर बेलौरीबाट बुवाआमासँगै आएका लोकेन्द्रले तीन वर्ष विदेशमा बसेको कमाइले नेपालमै केही गर्नु पर्छ भन्दै तरकारी व्यवसाय सुरु गरेको बताइन्छ ।

छिमेकी पार्वती गुरुङका अनुसार चिसापानी, लम्कीका साथीभाइ आफन्त जम्मा भएर होली खेल्ने, खानपिन गर्ने रमाइलो गर्दै थिए । तीमध्ये धेरै नदीमा पौडिन पोख्त नै हुन । सबै जोसिएर पुलबाट हामफालेछन् ।

उहाँले भन्नुभयो, “जिन्सको पाइन्टमै हामफाल्दा पौडिन मेसो पाएनन् कि चोट लाग्यो, डुबेको डुब्यै भए ।”इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार दिउँसो नै मदिरामा लट्ठिएका एक हुल युवा बाटोमा नाचगान गर्दै होहल्ला गरेपछि प्रहरीले हटाएको थियो ।

तीनै युवा गाउँतिर गएर दिनभर फागु खेलेपछि साँझ पुलबाट हामफालेर कर्णाली नदीमा नुहाउने उद्देश्यसहित जाँदै गर्दा प्रहरीले रोक्ने प्रयास गरेको थियो । प्रहरी निरीक्षक डाँगीले हामफाली पौडिएर निस्केका युवालाई खोजी सोधपुछ गर्ने कार्य भइरहेको बताउनुभयो । हामफाल्ने युवा २० देखि ३० वर्षसम्मका रहेको र सबै कर्णाली नदीमा पौडिने गरेको जनाइएको छ ।

उहाँले कर्णाली पुललाई सुरक्षाको दृष्टिकोणले निगरानी राख्न आफूले समेत पहल गर्ने बताउनुभयो । कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले होलीको दिनमा जिल्लाको शान्तिसुरक्षा बुझ्न दिनभर आफू फिल्डमै रहेको र चिसापानीबाट निस्केको एक घण्टामा घटना भएको बताउनुभयो ।

लम्कीचुहा नगरपालिकाका प्रमुख सुशीला शाहीले होलीको दिन स्थानीय युवाको समूहले पौडी खेल्ने नाममा ज्यानै जोखिममा पारेर हामफालेको घटनालाई गम्भीर रूपमा लिएको बताउनुभयो । नगर प्रमुख शाहीले सोमबारको घटनापछि चिसापानी पुलमा सुरक्षाकर्मीको सङ्ख्या बढाउन माग गरेको बताउनुभयो ।

दुई वर्षअगाडि समेत लम्कीका तीन जना १७/१८ वर्षका युवाले ख्यालख्यालैमा पुलबाट हाम फाल्दा दुई जनाको उद्धार गरिएको थियो । सो घटनामा एक जनाको डुबेर निधन भएको थियो ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
71%
1 km/h
बुध
26 °C
बिहि
26 °C
शुक्र
27 °C
शनि
15 °C
आइत
16 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ