इलाम । इलाम २ को उपनिर्वाचनलाई मध्य नजर गरी इलाममा मदिरा बिक्रीमा रोक लगाइएको छ ।
इलाम क्षेत्र नं. २ मा यही वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि मदिरा बिक्रमा प्रतिबन्ध गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय इलामले वैशाख २ देखि १५ गते निर्वाचन सम्पन्न भएर मत गणना नसकिएसम्मका लागि मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भयो ।उहाँले निर्वाचन क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गरी प्रतिबन्ध लगाइएको जानकारी दिनु भयो ।
निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचन पछिको समयमा शान्ति–सुरक्षामा असर पर्ने भन्दै मदिराजन्य पदार्थ बिक्री एवम् सेवन गर्न रोक लगाइएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै मदिरा प्रयोग एवम् बिक्री गरेको पाइएमा कानुन अनुसार कारबाही गरिने जनाएको छ । शान्ति सुरक्षालाई मध्यनजर गरेर गरिएको यस कार्यलाई सहयोग गर्न जिल्ला प्रशासन कार्यालय इलामले आग्रह समेत गरेको छ ।
प्रजिअ यादवले भन्नुभयो, ‘‘निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन हामी लागि परेका छौँ ।’’इलाम २ मा उपनिर्वाचनका लागि निर्धारण गरिएका सबै मतदानस्थल ‘अति संवेदनशील’ मानिएका छन् ।
इलाममा उपनिर्वाचन हुँदा देशभरको ध्यान एकैठाउँमा केन्द्रित भएको र बाहिरबाटसमेत आउ–जाउ बढी हुनसक्ने भएकाले सबै मतदानस्थल सुरक्षाका दृष्टिले अति संवेदनशिल रहेको प्रजिअ यादवको भनाइ छ ।
इलाम २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र छन् । मतदाताको सङ्ख्या एक लाख १५ हजार आठ सय ८९ छ । यीमध्ये पुरुष ५९ हजार १८ र महिला ५६ हजार आठ सय ६९ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।