काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत हङकङविरुद्ध नेपालले सहज जित निकालेको छ। ११५ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल आठ विकेटले विजयी भएको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ ११४ रन बनाएर अल आउट भएको थियो।
ओमानको अल अमिरात क्रिकेट मैदानमा वर्षाका कारण १८ ओभरमा झारिएको खेलमा हङकङ एक बलअगावै अलआउट भएको हो।हङकङका लागि अन्सी राथले सर्वाधिक ३४ रन जोड्दा जिसान अली १४, निजाकत खान १२ र एहसान खान ११ रन बनाएर पेभेलियन फर्किए।
हङकङका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।हङकङलाई सस्तैमा समेट्न अविनाश बोहराले तीन विकेट लिँदा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान दुई तथा करण केसीले एक विकेट लिए।
चार ओभर बलिङ गरेका ललित निकै किफायती साबित भए। उनले एक मेडन गर्दै १४ रन मात्र खर्चिए ।
पहिलो खेलमा नेपाल मलेसियाविरुद्ध पाँच विकेटले विजयी भएको थियो। शनिबार दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो।



