विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा ९ महिनामा भित्रिए एक लाख ४४ हजार पर्यटक

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

गण्डकी । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक वर्षको ९ महिनामा एक लाख ४४ हजार ६ सय ७५ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार गत साउनदेखि चैतसम्मको अवधिमा दक्षिण एसियाली मुलुकका ५९ हजार ९ सय ३९ र अन्य मुलुकका ८४ हजार ७ सय ३६ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् ।

गत चैतमा मात्र दक्षिण एसियाली मुलुकका १६ हजार ९ सय ६९ र अन्य मुलुकका १८ हजार दुई ९६ गरी कूल ३५ हजार दुई सय ६५ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्र घुम्न आएको आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिए । उनका अनुसार गत असोजमा २८ हजार ७ सय ५ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए ।

यो वैशाख महिनामा पर्यटक संख्या थप बढ्ने प्रमुख डा कडरियाको अनुमान छ । गत आर्थिक वर्षको वैशाखमा ३१ हजार नौ सय ५१ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्र आएका थिए । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्रा पर्यटनका लागि सबैभन्दा उत्तम मानिन्छ ।

‘एक्याप’ले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको तथ्यांक राख्ने गरेको छ । सडक मार्ग भएर मनाङ, मुस्ताङलगायतका ठाउँ प्रवेश गर्ने आन्तरिक पर्यटकको संख्या यकीन छैन । ‘एक्याप’का अनुसार सन् २०२३ मा एक सय ७३ देशका एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । उक्त संख्या हालसम्मकै उच्च हो ।

त्यसअघि सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए । अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मार्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्य छन् ।

७ हजार ६ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृतिका कारण पर्यटकको रोजाइमा पर्ने गर्छ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
6 km/h
शनि
18 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ