काठमाडौं । नेपाल र चीनको तिब्बत प्रान्तबिच कृषि सहकारीसम्बन्धी विविध सहमतिपत्रमा भर्खरै हस्ताक्षर भएको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्य तथा सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रका उपाध्यक्ष लाङ फुकुआनको विशेष आतिथ्यमा राजधानीमा आयोजित एक समारोहमा उक्त सहमति भएको हो ।
१७ गते सोमवार बिहानदेखि सुरु भएको सत्रौं नेपाल–तिब्बत आर्थिक तथा व्यापार मेलाको प्रारम्भमा तिब्बतका चौंरी, याक, घोडा र च्याङ्ग्रालाई लामो हिउँदयाममा खुवाउन नेपालबाट विशेष पोषिलो घाँस हेइलेज उत्पादन र खरिद गर्नेलगायत विषयमा सहमति गरिएको छ ।
चितवन र नुवाकोटमा उत्पादित हेइलेज नेपाल क्राउन एग्रिकल्चरल इन्टरप्राइजेजमार्फत तिब्बतको प्लेटो ब्लु कम्पनीले खरिद गर्ने सम्झौता भएको छ । त्यसैगरी उताको प्लेटो ब्लु कम्पनीबाट नेपालको न्यु होप नेपाल कम्पनीले पशु आहार (दाना) खरिद गर्ने र न्यु होप नेपाल कम्पनीले नेपाल ग्रास कम्पनीलाई जैविक मल उपलब्ध गराउने सम्बन्धी सम्झौता समारोहमा भएको छ ।
दुई मुलुकका कृषि कम्पनीबिच यताबाट जुनार र सुन्तलासमेत लैजानेगरी भएको सहमतिले नेपालको कृषि उत्पादन, अनुसन्धान र हेइलेज निर्यातमा ठूलो योगदान पुग्ने बताइएको छ । उक्त कार्यमा नेपालका विभिन्न निकाय तथा तिब्बतको वाणिज्य विभागले सहजीकरण गरेको चिनियाँ व्यवसायी चाङ चिन्स्याङ्गले बताउनुभयो ।
उहाँका अनुसार यसका निम्ति तिब्बत प्लेटो एग्रिकल्चर कम्पनीले तिब्बतको कृषि तथा ग्रामीण मामिला विभागबाट सन् २०२३ डिसेम्बरमा व्यावसायिक निर्देशन प्राप्त गरिसकेको छ ।
तिब्बतमा याक तथा पशु उद्योग प्रवर्धनका लागि विशेषगरी हिउँदमा हरियो र पौष्टिक घाँस खुवाउने योजनाअनुसार नेपालबाट हेइलेज खरिद गर्न लागिएको हो ।