काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताउनुभएको छ ।
‘जाऊँ हिँड रेसुङ्गा’ कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले रेसुङ्गा ऐतिहासिक, धार्मिक, पौराणिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदा भएको बताउनुभयो ।
पर्यटन क्षेत्रको विकासमा तीनै तहका सरकार थप क्रियाशील हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले गैरसरकारी तथा सामुदायिक क्षेत्रसँगको सहकार्यमा पर्यटन क्षेत्रको विकास र विस्तार गर्न सकिने बताउनुभयो ।
उहाँले रेसुङ्गा क्षेत्रको समग्र विकासका लागि सङ्घीय सरकारबाट आवश्यक सहयोग हुने विश्वास दिलाउनुभयो । वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अगाडि बढिरहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले पर्यटन बहुआयमिक सम्भावनाहरूको नेतृत्व गर्ने क्षेत्र भएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय देशव्यापी रूपमा आगलागी फैलिएको र गुल्मी जिल्लामा पनि आगलागीबाट ठुलो क्षति पुगेकोप्रति गहिरो दुःख व्यक्त गर्नुभयो । उहाँले पीडितहरूका पक्षमा सरकारको तर्फबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त व्यक्त गर्नुभयो ।

