काठमाडौं: अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि बुधवार नेपाल र म्यानमार बीच रोमाञ्चक भिडन्त हुँदैछ। फाइनल खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
फाइनलअघि दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन्। मंगलबार रंगशालामा आयोजित प्रि-म्याच कन्फरेन्समा नेपाली महिला टोलीका प्रशिक्षक राजेन्द्र तामाङ ले समूह चरणका उत्कृष्ट प्रदर्शनले फाइनल खेल आफ्नो पक्षमा पार्ने विश्वास व्यक्त गरे। उनले फाइनलका लागि विशेष रणनीतिसहित मैदानमा उत्रिने बताए।
नेपाली महिला टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा ले टोली राम्रो लयमा रहेकाले जित्ने सम्भावना बलियो रहेको बताइन्। “उपाधि जित्नका लागि हामी शतप्रतिशत दिनेछौं,” उनले भनिन्।
यस्तै, म्यानमारका प्रशिक्षक र कप्तान ले पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जित्ने दाबी गरेका छन्।
फाइनल खेलका लागि एन्फाले टिकट दर बढाएको छ। एन्फा प्रवक्ता सुरेश शाह का अनुसार, भीआईपीतर्फ २ हजार र सामान्यतर्फ १ हजार रुपैयाँ टिकट दर तोकिएको छ। पाँच वर्ष उमेर माथिकालाई अनिवार्य टिकटको व्यवस्था गरिएको छ।
प्रतियोगिताको सुरक्षालाई चुस्तदुरुस्त बनाइएको र सबै तयारी पूरा भएको एन्फाले जनाएको छ।
संवाददाता






