धरान । धरान–८ मा निर्माण गरिएको नयाँ स्मार्ट बसपार्कबाट शुक्रवार बिहानदेखि लामो तथा छोटो दूरीका सबै सार्वजनिक सवारी साधनको नियमित सञ्चालन सुरु भएको छ। यससँगै वर्षौँदेखि भानु चोक–घण्टाघर क्षेत्रबाट हुँदै आएको बस सञ्चालनको व्यवस्था अन्त्य भएको छ।
धरान उपमहानगरपालिकाले गत असार १३ गते भानु चोक–घण्टाघरस्थित पुरानो बसपार्कलाई नयाँ स्मार्ट बसपार्कमा स्थानान्तरण गर्ने निर्णय सार्वजनिक गर्दै बस टर्मिनल भवन र बसपार्कको उद्घाटन गरेको थियो। उद्घाटन भए पनि केही यातायात व्यवसायी नयाँ स्थानबाट सेवा सञ्चालन गर्न तयार नहुँदा बसपार्क पूर्ण रूपमा सञ्चालनमा आउन सकेको थिएन।
त्यसपछि उपमहानगरपालिका, यातायात व्यवसायी, ट्राफिक प्रहरी तथा अन्य सरोकारवालाबिच पटक–पटक छलफल भएपछि सहमति जुटेको हो। सोही सहमतिअनुसार शुक्रबार देखि सबै सार्वजनिक सवारी नयाँ बसपार्कबाट सञ्चालनमा आएका छन्।
शुक्रवार बिहानैदेखि नयाँ बसपार्कमा यात्रुहरूको उल्लेख्य चहलपहल देखिएको थियो। पूर्व–पश्चिम, पहाडी जिल्ला तथा विराटनगर रुटका बस, माइक्रो बस, हाइस र अन्य सार्वजनिक सवारी निर्धारित समयमै नयाँ बसपार्कबाट छुट्न थालेका छन्। यात्रुहरू पनि नयाँ व्यवस्थाअनुसार सोही स्थानबाट यात्रा सुरु गरिरहेका छन्।
धरान उपमहानगरपालिकाले साउन १ गतेदेखि नयाँ बसपार्क सञ्चालनसम्बन्धी व्यवस्था कडाइका साथ लागू गरेको जनाएको छ। अब पहाडी रुट, पूर्व–पश्चिम, विराटनगर रुटका सार्वजनिक सवारी तथा रातो नम्बर प्लेटका सवारीसाधनलाई भानु चोक–घण्टाघर क्षेत्रमा पार्किङ गर्न नपाइने व्यवस्था गरिएको छ। नियम उल्लङ्घन गर्ने सवारीमाथि आवश्यक कारबाही गरिने चेतावनी पनि दिइएको छ।
नयाँ बसपार्क सञ्चालनमा आएसँगै भानु चोक, देशी लाइन र पुतली लाइन क्षेत्रमा सडक पहिलेको तुलनामा फराकिलो र व्यवस्थित देखिन थालेको छ। लामो समयदेखि सडक किनारमै बस पार्किङ हुँदा हुने ट्राफिक जाम घटेको स्थानीयको अनुभव छ। अहिले सवारी आवतजावत सहज बनेको र बजार क्षेत्रको ट्राफिक व्यवस्थापनमा सकारात्मक सुधार देखिएको उनीहरू बताउँछन्।
यद्यपि, बसपार्क स्थानान्तरणसँगै भानु चोक आसपासका होटेल, रेस्टुरेन्ट तथा अन्य साना व्यवसायमा ग्राहकको चहलपहल घट्न थालेको भन्दै केही व्यवसायीले चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार यात्रुको भीड कम भएसँगै दैनिक व्यापारमा प्रत्यक्ष असर पर्न थालेको छ। त्यसैले नयाँ व्यवस्थासँगै पुरानो बजार क्षेत्रलाई पनि चलायमान बनाउने योजना ल्याउन स्थानीय व्यवसायीले उपमहानगरपालिकासँग आग्रह गरेका छन्।
उता उपमहानगरपालिकाले भने नयाँ स्मार्ट बसपार्क सञ्चालनले धरानको सार्वजनिक यातायात प्रणालीलाई थप व्यवस्थित बनाउने, यात्रुहरूलाई एउटै स्थानबाट सेवा उपलब्ध गराउने तथा दीर्घकालीन रूपमा सहरको ट्राफिक व्यवस्थापन सुधार गर्ने विश्वास व्यक्त गरेको छ।
संवाददाता







