नवलपरासीपश्चिम । नवलपरासीपश्चिमको सदरमुकाम परासीदेखि तीन किलोमिटर दक्षिणमा रहेको रामग्राम क्षेत्रलाई ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक स्थलका रूपमा विकास गर्ने तयारी थालिएको छ । त्यसका लागि लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका, थाई विहार र द प्रोमिस ल्यान्डले बृहत् योजना अघि सारेका छन् । बृहत् लुम्बिनी क्षेत्रको परिकल्पनाबमोजिम तिलौराकोट, मायादेवी मन्दिर, अनोमाघाट, देवदह, रामग्रामलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्व अधिकृत एवं पुरातत्वविद् हिमालकुमार उप्रेतीका अनुसार रामग्राम बुद्धको अस्थिधातु राखेका आठमध्ये एक स्थल हो । “बौद्ध साहित्यमा उल्लेख भएबमोजिम सम्राट् अशोकले ८४ हजार स्तूप बनाउने क्रममा सात स्तूपबाट अस्थिधातु निकालेका थिए । रामग्राममा भएको अस्थिधातु निकाल्न खोज्दा नागराजले संरक्षण गरेर राखेको पाए,” उहाँले भन्नुभयो । उहाँका अनुसार अशोकले स्तूप खोतल्न खोज्दा नागराजले अशोकलाई आफूले अस्तु संरक्षण गरेर राखेको र आफूले जस्तै शुद्ध गरेर राख्न सक्ने भए मात्र लैजान भन्दै नभए अनिष्ट हुने सूचना दिएका थिए । त्यसपछि अशोकले अस्थिधातु नलिएको र रामग्राममा सुरक्षित रहेको विश्वास छ ।
तर रामग्राममा रहेको बुद्धको अस्थिधातु भए नभएको विषयमा कुनै खोज अनुसन्धान गरिएको छैन । “रामग्राम क्षेत्रमा अस्थिधातु छ छैन भन्ने हेरिएको छैन । वैज्ञानिक खोज अनुसन्धान भएको छैन,” उहाँले भन्नुभयो, “गत नोभेम्बरमा पुरातत्व विभाग, लुम्बिनी विकास कोषसहित विभिन्न सङ्घ संस्थाले स्तूपभन्दा केही पर भवनको भग्नावशेष फेला पारे । ती सबै अनुसन्धान भएपछि मानव गतिविधि भएको थाहा पाइयो ।”