काठमाडौँ, नेपाली खेलकुदको प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७९’ को चार विधाका शीर्ष तीन खेलाडीको नाम आज सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा चार विधाका शीर्ष तीनभित्र परेका खेलाडीको मनोनयन सार्वजनिक गरेको हो ।
वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकको शीर्ष तीनमा मनोनयन गरिएको हो । वर्ष उत्कृष्ट प्रशिक्षकमा एथलेटिक्सका चन्द्रबहादुर गुरुङ, बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत् टमाटा हुनुहुन्छ । त्यस्तै वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका आशिफ शेख र रोहितकुमार पौडेल तथा एथलेटिक्सका दीपक अधिकारी शीर्ष तीनभित्र पर्न सफल हुनुभयो ।
वर्षको उत्कृष्ट महिला खेलाडीमा बास्केटबलकी अनुशा मल्ल, एथलेटिक्सकी पुष्पा भण्डारी र राजपुरा पछाईँ तथा वर्ष युवा खेलाडीमा क्रिकेटका देव खनाल, एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ शीर्ष तीनको मनोनयनमा पर्न सफल हुनुभयो । उत्कृष्ट तीनबाट कार्यक्रमकै दिन विजेता चयन गरिने छनोट समितिका संयोजक प्रज्वल ओलीले जानकारी दिनुभयो । यस संस्करणदेखि चार विधामा समान आठ जना मनोनयनमा समावेश गरिएको थियो ।
यसअघि पाँच जनाको मनोनयन सार्वजनिक हुने र तीमध्येबाट अवार्डकै दिन विजेता घोषणा गर्ने गरिन्थ्यो । यस संस्करणबाट अवार्ड आयोजनाको केही दिन अगाडि नै शीर्ष तीनको मनोनयन सार्वजनिक गर्न थालिएको हो । पल्सर स्पोर्ट्स अवार्डमा प्रदान गरिने नौ विधामध्ये पाँच विधाको मनोयनन कार्यक्रमअघि नै सार्वजनिक हुने परम्परा छ । पिपल्स च्वाइस विधामा भने पाँच मनोनयन नै यथावत र तीमध्येबाट अवार्डकै दिन विजेता घोषणा हुनेछ ।
मञ्चका महासचिवसमेत रहनुभएका खेलाडी छनोट समितिका संयोजक ओलीले वर्ष २०७९ मा उत्कृष्ट प्रदर्शन गर्ने बढीभन्दा बढी खेलाडी तथा प्रशिक्षकलाई स्पोर्ट्स अवार्डमा समेट्ने उद्देश्यअनुरूप सुरुआतमा शीर्ष आठको मनोनयन गरिएको बताउनुभयो । “हाम्रो उद्देश्य धेरैभन्दा धेरै नेपालका खेलकर्मीले यो अवार्डप्रति अपनत्व होस् भन्ने उद्देश्य हो, त्यसैले सुरुमा आठ जनासम्म मनोनयन बढाएका हौँ”, संयोजक ओलीले भन्नुभयो ।
पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा पर्नुभएको छ । मञ्चले पिपल्स च्वाइस विधाको भोटिङ पनि अन्तिम चरणमा पुगेको जनाएको छ । उनीहरूका लागि ई–सेवाबाट भोटिङ चलिरहेको छ । स्पोर्ट्स अवार्डका अन्य विधामा पारा एथलेटिक्स सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने यही माघ २८ गते कार्यक्रमकै दिन हुनेछ । यसपटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विधाका विजेताले बजाज पल्सर मोटरसाइकल पुरस्कार पाउनुहुनेछ । अन्य विधाका विजेतालाई जनही रु ५० हजार र बीमा पोलिसी प्रदान गरिनेछ । बीसौँ संस्करणको उक्त अवार्ड माघ २८ गते याक एण्ड यती होटलमा आयोजना हुँदैछ ।