काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज लुम्बिनी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने हुनुभएको छ । उहाँ शनिबार नै लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औं सभाको बैठकमा पनि सहभागी हुने कार्यक्रम छ । लुम्बिनीको कार्यक्रम अघि प्रधानमन्त्री दाहाल बाग्लुङको पञ्चकोटमा भईरहेको महायज्ञमा पनि पुग्ने कार्यक्रम छ ।
प्रधानमन्त्री दाहालले लुम्बिनी प्रदेशको विकासको सम्भावना, अहिलेसम्म भएका प्रयास र गर्नुपर्ने योजनाका विषयमा प्रदेश सभामा सम्बोधन गर्न लाग्नु भएको हो ।
त्यस्तै लुम्बिनी प्रदेश सरकारको गौरवको अयोजना अन्तर्गत निर्माण भईरहेको लुम्बिनी प्रादेशिक अस्पताल, त्यसको विशिष्टीकृत सेवा प्रवाह र प्रदेश सरकारले अघि सारेको आर्थिक विकास कार्यक्रमको विषयमा पनि प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने उहाँको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले लुम्बिनी प्रदेश सरकारको आयोजनामा लुम्बिनीमा यही फागुन २८ र २९ गते हुन लागेको चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लोरेट एन्ड लिडर्स शिखर सम्मेलन’को सफलताको कामना गर्नुहुनेछ ।
प्रदेश सभा बैठकलाई सम्बोधन गरिदिनका लागि लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सभामुख तुलाराम घर्तीमगर सहितको टोलीले एकसाता अघि काठमाडौं पुगेर प्रधानमन्त्री दाहाल समक्ष आग्रह गर्नु भएको थियो ।


