चितवन– शनिबार चितवनस्थित एकता शिशु निकेतनको होस्टेलमा १४ वर्षिया छात्रा शालिन पोखरेल झुन्डिएको अवस्थामा भेटिइन् । पोखरेलको शंकास्पद मृत्यु आत्महत्या हो कि हत्या भन्ने प्रश्न उठेको छ । पीडित पक्षले बालिकाको बलात्कारपछि हत्या भएको दाबी गरेको छ भने चितवन प्रहरीले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ ।
यो घटनाले यतिखेर सामाजिक संजाल समेत तातेको छ । चारैतिर निष्पक्ष छानविनसहित पीडितलाई न्याय दिनुपर्ने माग उठ्न थालेको छ । होस्टेलमा बसेर कक्षा ८ मा पढ्दै आएकी १४ वर्षीया शालिन पोखरेलको मृत्युपछि प्रहरीले तीनजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । घटनाको तीन दिनपछि मात्रै पीडित परिवारको जाहेरी लिन तयार भएको जिल्ला प्रहरी कार्यालय चितवनले होस्टेलका वार्डेन कमल शर्मा पौडेल, प्रिन्सिपल बालहरी देवकोटा र भाइस प्रिन्सिपल किरणबहादुर अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । बालिकाको हत्या हो या आत्महत्या भन्ने चौतर्फी प्रश्न उठिरहेका बेला प्रहरीले पनि बालिकाको पोष्टमार्टम रिपोर्ट कुरिरहेको छ । बाहिर हल्ला भएजस्तो कुनै तथ्य खुलिनसकेको र प्रहरी अनुसन्धानकै चरणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी भावेश रिमाल बताउँछन् । ‘पोष्टमार्टम रिपोर्ट नआइकन हामी केही भन्न सक्दैनौं । बाहिर हल्लाभएजस्तो केही खुलिसकेको छैन,’ एसपी रिमालले भने , ‘अहिले नै अनुसन्धानलाई प्रभावित पार्नेगरी सामाजिक संजालमा अतिरन्जना फैलाउनु ठिक हो भन्ने लाग्दैन । नेपाल प्रहरी अनुसन्धान गर्न सक्षम छ, गरेर छाड्छ ।’
उता प्रहरीले अनुसन्धान गरिरहेको बताएपनि मृतकका परिवारले भने घटनाको वस्तुस्थिती हेर्दा आफ्नो छोरीको बलात्कारपछि हत्या भएको दाबीसहित काठमाडौंमा प्रेस मिट नै गरिसकेको छ । घटना भएको तीन दिनसम्म जाहेरी लिन नमान्नुले अनुसन्धानमा प्रहरीको निष्पक्ष भूमिका हुनेमा परिवारको आशंका छ । पोखरेल घटनास्थलमा पुग्दा कोठाकोे ढोका फोडिएको र घटना भएको ठाउँमा सरसफाई गरिएको देखेका थिए । शालिनले लगाएको कपडा, जुत्ता पनि धुनका लागि पानीमा डुबाइएको अवस्थामा थियो । मृतकका बुबा दिपेन्द्र पोखरेल छोरीको योनांगमा पनि घाउ भेटिएको सूचना प्राप्त भएका कारण बलात्कारपछि हत्या गरिएको दाबी गर्छन् । ‘फरेन्सिक ल्याबले दिएको प्रारम्भिक सूचनाअनुसार छोरीको यौनाङ्गमा घाउ देखिएको छ । त्यसैले यो बलात्कारपछि गरिएको हत्या हो । प्रहरीले चार दिनसम्म जाहेरी लिन नमान्नु, घटनास्थलमा प्रमाण मेटिने कार्यहरु गर्नुले हामीलाई निष्पक्ष अनुसन्धान हुनेमा शंका छ । हामी न्याय माग्न कहाँ जाने,’ बुबा पोखरेलले भने ।
चितवन प्रहरीले घटनास्थलबाट एउटा सुसाइट नोटसमेत फेला पारेको छ । ससाइड नोटमा ‘सरी एभ्रिबडी, मैले अहिलेसम्म जति पनि गल्ती गरेँ । मेरोे ममी बाबालाई याद गरेको छु भन्दिनु । आइ एम सरी,’ लेखिएको छ । मृतकको बाआमाले यो सुसाइट नोट छोरीको अक्षरसँग नमिल्ने र छोरीको हुनै नसक्ने दाबी गरेका छ । त्यहीकारण प्रहरीले अनुसन्धानका लागि सुसाइट नोट पनि फरेन्सिक ल्याबमा पठाएको छ । ल्याबबाट रिपोर्ट आउन भने बाँकी रहेको एसपी रिमालले बताए ।
शालिन दुई वर्षदेखी सो होस्टलमा बसेर पढ्थिन् । बुवा र आमाको सम्बन्ध विच्छेद गरेर उनकी आमा दुबई र बुवा काठमाडौँमा बस्छन् । शालिन भने मामाघर चितवन रहेकाले उतकै स्कुलमा होस्टेल बसेर पढिरहेकी थिइन् । अहिले उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।