काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नयाँ समीकरण बनेकै दिनबाट दक्षिणपन्थी शक्तिहरू चलखेल र षड्यन्त्रमा लागेको बताउनुभएको छ ।
विगतको गठबन्धनले अघि सारेका नीति, कार्यक्रम र बजेटले जनता र राष्ट्रको कुनै पनि आधारभूत समस्याहरूलाई सम्बोधन गर्न नसकेकाले नयाँ समीकरण आवश्यक भएको औंल्याउनुभयो ।
खनालले शनिबार विज्ञप्तिमार्फत् सरकारका कार्यभार औंल्याउनुभएको छ । उहाँले अहिलेको अवस्थामा देशका श्रमजीवीहरू, भूमिहीन, गरिब र सुकुम्बासी जनताका समस्याहरू समाधान गर्न भूमिसुधार गर्नुपर्ने खाँचो रहेको उल्लेख गर्नुभएको छ ।
‘कृषि उत्पादनलाई व्यापक बनाउने, कृषि क्रान्तिलाई अघि बढाउनुपर्ने, मुलुकलाई राष्ट्रिय औद्योगीकरणको दिशामा अघि बढाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन गर्नुपर्ने, मंहगी र मूल्य वृद्धिलाई नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचारलाई माथिदेखि तलै सम्म निर्ममतापूर्वक नियन्त्रण गर्नुपर्ने, हर क्षेत्रमा रोजगारी सिर्जना गर्नुपर्ने, राष्ट्रिय अर्थतन्त्रको हित अनुरूप भन्सार नीति बनाउनुपर्ने, वित्तीय र मौद्रिक नीतिमा सुधार गर्नुपर्ने, राष्ट्रिय उद्यमहरूको संरक्षण गर्नुपर्ने आवश्यकता छ,’ उल्लेख छ ।
पूर्वप्रधानमन्त्री खनालले देशको निजामती र जङ्गी प्रशासनलाई लोकतान्त्रिकरण गर्नुपर्ने विज्ञप्तीमा उल्लेख छ । त्यस्तै, पग्लिरहेको हिमालको संरक्षण गर्नुपर्ने, फैलँदो प्रदूषणबाट वातावरणको संरक्षण गर्नुपर्ने, मुलुकलाई गरिबी उन्मूलनको दिशामा अघि बढाउनुपर्ने पनि बताउनुभयो ।