काठमाडौँ — काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं.३ तारेभिरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा हत्यागरि शव गाडेको आरोपमा एक युवक पक्राउ परेका छन् । सुस्मा लामाको हत्या गरी शव गाडिएको अवस्थामा छोडेको आरोपमा गोकर्णेश्वर नगरपालिका वडा नं.३ तारेभिरका २१ वर्षीय रुपेन्द्र लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा आरोपी व्यक्तिलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरी अधिकारीकाअनुसार निज हत्या आरोपी व्यक्तिले सुस्मा लामालाई विगत ८ महिनादेखि एकोहोरो मन पराएको र पटक–पटक प्रेम प्रस्ताव राख्दा पनि स्वीकार नगरिएपछि आफूले हत्या गरेको बताएका छन् ।
प्रहरीका अनुसार माघ २२ गते कलेज जान भनी निस्किएकी लामा सम्पर्कमा आइनन् । माघ २३ गते फेसबुकमा विवाह गरेको फोटो पोस्ट गरिन् र आफू ३ दिनमा आउँछु भनेर पोस्ट गरिन् । परिवारले माघ २५ गते प्रहरी वृत्त बौद्धमा मानिस हराएको भनेर रिपोर्ट गरेसँगै प्रहरीले खोजतलास तथा अनुसन्धान सुरु गरेको थियो ।
एक महिनापछि फागुन २४ गते साँझ हातमात्र देखिएको अवस्थामा तारेभिरमै शव गाडिएको अवस्थामा फेला परेको र २५ गते उत्खनन् भएको जनाइएको छ । हात पेटीले कसेको र घाँटीमा टाईले कसेको सडे गलेको अवस्थामा रहेको शव आमाले सनाखत गरेकी थिइन् ।
अभियुक्तको कोठाबाट खाल्डो खन्न प्रयोग भएको कुटो, मृतकको मोबाइल र किताब(कापी)समेत बरामद भएको छ । गत माघ २२ गते कलेज जान भनेर हिँडेकी काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं.३ तारेभिरकी १८ वर्षीया सुस्मा लामा बेपत्ता थिइन् । उनको शव फागुन २४ गते साँझ शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा फेला परेको थियो भने फागुन २५ गते उत्खनन् गरी सनाखत भएको थियो ।