सुर्खेत । विश्वविद्यालयभित्र शान्ति सुब्यबस्था, शिक्षक—कर्मचारीको वृत्तिविकास र शैक्षिक गुणस्तरलाई मूल मन्त्र बनाउनुभएका मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा.केशरसिंह रानाले मुलुकको गुज्रिदो आर्थिक संकटलाई दृष्टिगत गर्दै नेपाल सरकारद्वारा जारी सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्ड, २०७७ लाई ब्यबहारिक रुपमा टेवा पुग्ने गरी यसअघि विश्वविद्यालयको आफ्नै भवनमा विकल्प हुँदाहुँदै अनावश्यक प्रयोगमा ल्याइएका अधिकांश भाडाका घर विस्थापित गर्ने कार्य शुभारम्भ गर्नुभएको छ ।
अघिल्लो कार्यकालमा आन्तरिक आयस्रोत नबढाई जथाभावी संरचना खडा गर्दै विभिन्न तहका पदाधिकारी सृजना गर्ने, विभिन्न संयन्त्रका नाममा दोहोरो नियुक्ति गर्ने, मनोमानी सेवासुविधा बढाउने, स्वीकृत दरबन्दीको सीमा नाघेर ज्यालादारी, करार वा स्थायी सेवा सम्ममा शिक्षक कर्मचारी नियुक्त गर्दा विश्वविद्यालयले व्यहोरेको चुलिंदो आर्थिक व्ययभारलाई थोरै भएपनि घटाउन उपकुलपति रानाले आफ्मो कार्यकालको प्रारम्भमै भाडाका घरमुक्त अभियान थाल्नुभएको हो ।

उपकुलपति रानाको आगमन पश्चात् झण्डै दुई वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको वीरेन्द्रनगर कुइनेपानी स्थित निर्मित प्रिफ्याब स्ट्रक्चर भवनहरु बाहिरका कर्मचारीहरुलाई लक्षित गरी आवासका रुपमा प्रयोगमा ल्याई विश्वविद्यालयको आम्दानी बढाउने निर्णय भएको छ। जसका कारण भवनको संरक्षणसँगै सुलभ दरमा आवास सुविधा पाउँदा खासगरी वर्षौंदेखि सुर्खेतमा कार्यरत जिल्ला बाहिरका कर्मचारीहरु उत्प्रेरित हुने विश्वास गरिएको छ ।
विश्वविद्यालय अवस्थित वीरेन्द्रनगर, सुर्खेत निवासी राना विश्वविद्यालय स्थापनाको एक अभियन्ताका हिसाबले पनि यसको दीगोपनाका लागि सदैव चिन्तित एवं प्रयत्नशील हुनुहुन्छ, उपकुलपतिको सचिवालयमा कार्यरत नमराज माझीले थप्नुभयो( भीसीसाबले चार वर्षे कार्यकालको जिम्मेवारी प्राप्त गरेमा साँच्चिकै विश्वविद्यालयमा अपेक्षाकृत सुधार हुन्छ ।
विश्वविद्यालयका प्रशासकीय अधिकृत शेरबहादुर केसीले पूरा समय काम गर्ने प्रमुख पदाधिकारीको रुपमा रहेको उपकुलपति पद केवल आवधिक रुपमा तलब खाने र जाने भन्दा पनि सबैलाई अपनत्वबोध हुने गरी सही ठाउँमा सही व्यक्तिको छनौट गरी परिणाममुखी काम गर्ने, गराउने इच्छाशक्ति बोकेको तथा सुस्पष्ट विचार, दृष्टिकोण भएको समग्र ब्यबस्थापकीय एवं नेतृत्वदायी जिम्मेवारी भएकाले संस्थागत सबलताका लागि नवनियुक्त उपकुलपतिज्यूले लिनुभएको प्रारम्भिक पहलकदमी सकारात्मक भएको बताउनुभयो । तथापि, पूरा कार्यकाल नहेरी कुनै पनि नेतृत्वको पूरा सफलता वा असफलता बारे निष्कर्ष निकाल्नु भने हतार हुने अधिकृत केसीको तर्क छ ।
निजी घरमा रहेको मध्यपश्चिम विश्वविद्यालय विश्वव्यापी भाषा तथा ब्यबसायिक सीप विकास केन्द्र, विस्तारित कार्यालय, स्कूल अफ ल तत्काल आफ्नै भवनबाट संचालन गर्ने प्रक्रिया आरम्भ गरेसँगै ती निकायमा बत्तीपानी, इन्टरनेट लगायत अन्य खर्च बाहेक उल्लिखित घरभाडा वापत मासिक कम्तीमा रु.१ लाख ७२ हजार ३ सय ५० रुपियाँ वचत हुने तथा कर्मचारी आवासबाट समेत केही रकम थपिने र त्यसबाट संस्थागत विकासमा ठूलो योगदान पुग्ने विश्वविद्यालयका केन्द्रीय स्टोर प्रमुख अजितकुमार बौडेलले जानकारी दिनुभयो ।