तानाशाह विचार सँग डराउँछ
र बन्ध्याकरण चाहन्छ उदीयमान सोचहरूमा !
तानाशाह चेतना सँग पनि डराउँछ
र प्रतिबन्ध लगाउँछ प्रश्नहरूमा !
तानाशाहलाई लगाव छ झुकेका आँखाहरूसँग
ऊ फगत त्रास दिन्छ , तर स्वयं भयभीत छ
युद्धको निम्ति तमतयार आँखाहरूलाई
नेलको आकार बताउँछ , जेलको बाटो देखाउँछ !
तानाशाह भन्छ -ए भिडहरू हो ! ए दासहरू हो !
म चुट्किला सुनाउछु ,तिमीहरू मात्र हाँसिराख
सधै यसैगरी मेरो लयमा नाचिराख !
दासहरू हाँसिरहन्छन् दासहरू नाचिरहन्छन् !
ऊ भन्छ -तिमीहरू ताली बजाउ ,तर मुठ्ठी नउठाऊ
मलाई उठेका मुठ्ठीहरू होइन लत्रिएका हातहरू मन पर्छ!
मलाई विद्रोही भाका होइन ,भक्तिगान मन पर्छ !
तिमीहरू मात्र अनुमोदन गर नामन्जुर नगर !
तिमीहरू मात्र स्वीकार गर बहिष्कार नगर !
दासहरू ताली बजाइरहन्छन्
दासहरू भक्ती गान गाइरहन्छन्
दासहरू अनुमोदन गरिरहन्छन् !
दासहरूकै भिडमाथि दम्भले उभिएर
आफ्नो शक्तिको अहँकार गर्दै
दासहरूकै फेहरिस्तमा झन् बलियो बनेर उभिन्छ तानाशाह !
तानाशाह नियन्त्रण चाहन्छ दासहरूको चेतनामाथि
शून्यता चाहन्छ दासहरूको मथिङ्गलमाथि !
दासहरू भने सत्ता र शक्तिको लालचमा नतमस्तक बनिरहन्छन्
र उनीहरूमै निरन्तर बाँचिरहन्छ तानाशाह !
किनकी आजका दासहरू स्पार्टाकस होइनन् ।
ग्लौडिएटर पनि होइनन् ।
मात्र दास हुन् चेतना नियन्त्रण गरिएका
भक्तीभावले लट्ठाइएका
भक्तीभावले लट्ठ चेतना नियन्त्रित दासहरू विद्रोह गर्दैनन्
सिर्फ हुर्काइरहन्छन् तानाशाह
आधुनिक दासहरू तानाशाह हुर्काइरहन्छन् !!
सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1
+1
+1



