नयाँ दिल्ली– नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतीय सामाजिक सञ्जालका गन्यमान्य इन्फ्लुएन्सर, भ्लगर तथा पोडकास्टरहरूका लागि एक विशेष नेपाल भ्रमण कार्यक्रमको घोषणा गरेको छ। दूतावासले मे २०, २०२६ मा एक आधिकारिक सूचना जारी गर्दै यस कार्यक्रमका लागि इच्छुक भारतीय डिजिटल कन्टेन्ट क्रिएटरहरूबाट आवेदन माग गरेको हो।
यस कार्यक्रम अन्तर्गत राजदूतावासले कुल पाँच जना योग्य भारतीय सोसल मिडिया इन्फ्लुएन्सर वा भ्लगरहरूलाई छनोट गरी नेपाल भ्रमण गराउने योजना बनाएको छ। यस भ्रमणको मुख्य उद्देश्य भारतीय पर्यटकहरूका माझ नेपाललाई एक नजिकको, सुलभ र स्वागतयोग्य पर्यटकीय गन्तव्यका रूपमा प्रस्तुत गर्नु रहेको छ। छनोट भएका सहभागीहरूले नेपालका हिमाल, तालतलैया, सांस्कृतिक सम्पदा, मन्दिर, स्तूप, चाडपर्व, रैथाने परिकार तथा स्थानीय संस्कृतिको अनुभव लिनेछन्। साथै उनीहरूले नेपालको प्राकृतिक सुन्दरता, आध्यात्मिक गन्तव्य, साहसिक पर्यटन, कल्याण र पारिवारिक भ्रमणका सम्भावनाहरूलाई आफ्नो डिजिटल सामग्रीमार्फत भारतीय बजारमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
यस कार्यक्रममा सहभागी हुनका लागि आवेदक भारतीय नागरिक वा भारतमा आधारित डिजिटल कन्टेन्ट क्रिएटर हुनुपर्नेछ। उनीहरूको युट्युब, इन्स्टाग्राम, फेसबुक, एक्स वा अन्य डिजिटल प्लेटफर्ममा सक्रिय र बलियो उपस्थिति हुनुका साथै यात्रा, संस्कृति, आध्यात्मिकता, जीवनशैली वा पर्यटन क्षेत्रमा कन्टेन्ट बनाएको अनुभव हुनुपर्नेछ। सहभागीहरूको छनोट कन्टेन्टको सान्दर्भिकता, पछिल्लो कामको गुणस्तर, दर्शकसम्मको पहुँच, रचनात्मकता, कथा वाचन शैली, व्यावसायिक प्रतिष्ठा र अंग्रेजी, हिन्दी वा अन्य क्षेत्रीय भारतीय भाषाहरूमा प्रभावकारी रूपमा सञ्चार गर्न सक्ने क्षमताका आधारमा गरिनेछ।
इच्छुक आवेदकहरूले आफ्नो पूरा नाम, राष्ट्रियता, सम्पर्क नम्बर, इमेल, सोसल मिडिया ह्यान्डल र लिंकहरू, फलोअर्स वा सब्सक्राइबरको संख्या, पुराना कामहरूका नमूना तथा नेपाल भ्रमणमा आफ्नो रुचिको कारण र नेपाल प्रवर्द्धनका आइडियाहरू खुलाएर आवेदन दिनुपर्नेछ। आवेदन पठाउनका लागि दूतावासको इमेल eonnewdelhi@mofa.gov.np मा र बोधार्थ (CC) का रूपमा econepemb@gmail.com मा इमेल गर्नुपर्नेछ। आवेदनको विषय (Subject) मा ‘Application for Nepal Familiarization Trip for Influencers’ लेख्नुपर्ने दूतावासले जनाएको छ।
यस कार्यक्रमका लागि आवेदन दिने अन्तिम मिति ३० मे २०२६ (आज) सम्म तोकिएको छ। छनोट भएका सहभागीहरूलाई यात्राको मिति, तालिका र अन्य व्यवस्थापकीय विवरणहरू पछि जानकारी गराइनेछ भने आवश्यकता र उपयुक्तताका आधारमा आवेदन स्वीकार वा अस्वीकार गर्ने अधिकार दूतावासमा निहित रहनेछ।




