काठमाडौँ । इजरायल-प्यालेस्टाइन युद्धको स्थलगत रिपोर्टिङ गर्ने तीन जना सञ्चारकर्मीलाई सम्मान गरिएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार नेपाल पत्रकार महासंघले इजरायलमा गई युद्धको साहसिक स्थलगत रिपोर्टिङ गरेका कान्तिपुरकर्मी होम कार्की, प्रकाशचन्द्र तिमिल्सेना र श्याम श्रेष्ठलाई सम्मान गरेको हो ।
महासंघले आफ्नो २७ औं महाधिवेशनको अवसरमा कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक कार्की, कान्तिपुरका फोटो सम्पादक तिमिल्सेना र कान्तिपुर टिभीका भिडियोग्राफर प्रमुख श्रेष्ठलाई सम्मान गरेको हो । उनीहरूलाई सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले सम्मानपत्र हस्तान्तरण गरेकी हुन् ।
इजरायल र हमासबीचको युद्ध चर्केको आठौ दिन कान्तिपुरले पत्रकार कार्कीको नेतृत्वमा तीन सदस्यीय टोलीलाई स्थलगत रिपोर्टिङ गर्न इजरायल पठाएको थियो । अक्टोबर ७ तारिख शनिबार बिहान हमासले इजरायलभित्र छिरेर आक्रमण गरेको थियो । हमासको आक्रमणमा परी एक महिनाअघि मात्रै ‘लर्न एन्ड अर्न’ का लागि कृषि सिक्न र बुझ्न पुगेका सुदूरपश्चिमका १० जना कृषि विद्यार्थीको मृत्यु भएको थियो । कञ्चनपुरका विपिन जोशीलाई भने अझै हमासले बन्धक बनाइराखेको छ ।
जेरुसेलमस्थित सरकारी प्रेस कार्यालय (जीपीओ)का अनुसार युद्ध सुरु भएको पहिलो हप्ता नै स्थलगत रिपोर्टिङ गर्न नेपालबाट तीन पत्रकारसहित विश्वभरबाट दुई हजार ५० जना पत्रकार इजरायल पुगेका थिए । यो युद्धलाई इजरायलले ‘फलामको हतियार’ नाम दिइएको छ ।