काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका चर्चित गायक कुमा सागर र लोकप्रिय ब्याण्ड द ख्वपा ब्याण्डले काठमाडौंमा विशेष सांगीतिक प्रस्तुति दिने भएका छन् । आगामी श्रावण १७ गते गुरजुधारास्थित भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा हुने यस कार्यक्रमले संगीतप्रेमीहरूलाई विशेष मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ ।
पिरामिड भेन्चर्स प्रालिको आयोजनामा हुन लागेको यस बृहत सांगीतिक साँझमा कुमा सागर र ख्वपा ब्याण्डका साथै युवा पुस्तामाझ लोकप्रिय ब्याण्ड द एडाप्टर्स नेपाल र गायक कमल खत्रीको पनि दमदार प्रस्तुति रहनेछ । “Feel the Live Music” नाराका साथ आयोजना हुन लागेको यो कार्यक्रमलाई एजुकेशन प्लानेटले सहकार्य गरेको छ भने इमेज एचडी मिडिया पार्टनरका रुपमा जोडिएको छ । कार्यक्रमको टिकटिङ पार्टनरको जिम्मेवारी खल्तीले लिएको छ ।
कार्यक्रमका संयोजक सुरेन्द्र श्रेष्ठले यस सांगीतिक महोत्सवले दर्शकहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण संगीतप्रेमी दर्शकहरूलाई उपस्थितिका लागि हार्दिक आह्वान गर्नुभएको छ । कार्यक्रमको सञ्चालन प्रतीक्षा दङ्गोलले गर्नेछिन् । नेपाली संगीतको प्रवर्धन र दर्शकहरूलाई उच्च स्तरको मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।



