बैंकक | थाइल्याण्ड नेपाल डट कमले कम्बोडियामा भइरहेको ठगी धन्दाबारे प्रमाणसहित समाचार सार्वजनिक गरेपछि एनआरएनए कम्बोडियाले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो बचाउ गरेको छ। विज्ञप्तिमा समाचारलाई “एकपक्षीय र भ्रामक” भन्दै संस्थाको मानमर्दामा दखल पुर्याएको दाबी गरिएको छ।
संस्थाका महासचिव दिपेन्द्र के.सी. द्वारा हस्ताक्षरित विज्ञप्तिमा कम्बोडियन फौजदारी संहिता उल्लेख गर्दै मिडिया र सामाजिक सञ्जालमा लेख्नेहरूलाई कारबाही गर्ने चेतावनी दिइएको छ। तर, विज्ञप्तिमा नेपाल सरकारले आफ्ना उपाध्यक्ष रामजी क्षेत्री विरुद्ध जारी गरेको पक्राउ पुर्जी र वैदेशिक रोजगार ठगी मुद्दाबारे भने पूर्ण रूपमा मौनता साधेको छ।
सरकारी निकायले नै ‘फरार अभियुक्त’ भनिसकेका व्यक्तिलाई संस्थाले अझै ‘सहयोग गर्ने पदाधिकारी’ भन्दै बचाउ गर्नुले एनआरएनए कम्बोडियाका अन्य नेतृत्वको पनि यसमा मिलेमतो छ कि भन्ने आशंकालाई बल पुर्याएको छ। थाइल्याण्ड नेपाल डट कम एनआरएनए कम्बोडियालाई प्रमाणसहित चुनौती दिन्छ कि नेपाल सरकारले खोजिरहेका अभियुक्तलाई पदमुक्त गरेर कानुनी प्रक्रियामा सहयोग गर्नुको साटो धम्कीपूर्ण विज्ञप्ति निकाल्नु आफैमा लज्जास्पद विषय हो।



