Ad imageAd image

सामाजिक सञ्जालसम्बन्धी कानुनको मुख्य आधार सामाजिक मूल्य मान्यताःमन्त्री शर्मा

संवाददाता
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा सामाजिक सञ्जालको प्रयोगको न्यूनतम आधार नेपाली समाजले अङ्गाल्दै आएको सामाजिक मूल्य मान्यता हुनुपर्ने बताउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सामाजिक सञ्जालसम्बन्धी कानुन तर्जुमा सम्बन्धमा सरोकारवालाहरूसँग गरेको अन्तर्क्रियामा उहाँले सामाजिक मूल्य मान्यतालाई आधार बनाएर नै सामाजिक सञ्जाल प्रयोगसम्बन्धी कानुन बनाउनुपर्ने बताउनुभयो ।

‘आजको सूचना प्रविधिको युगमा सामाजिक सञ्जाल नै प्रयोग हुनुहुँदैन भन्ने होइन किनकि यो नेपाली समाजको जीवनशैली बन्न थालेको छ’– उहाँले भन्नुभयो– ‘तर, नेपाली समाजको मूल्य मान्यतासँग यसको सामञ्जस्यता कसरी मिलाउने भन्ने सन्दर्भमा नै कानुन निर्माणको आवश्यकता महसुस भएको हो । त्यसका लागि सञ्चार तथा सूचना मन्त्रालयले एउटा टोली बनाएर लामो समयदेखि कानुन तर्जुमाको मस्यौदा गरिरहेको छ ।’

नेपाली समाज पश्चिमा समाजभन्दा फरक भएकाले पनि अन्य देशले जस्तै नेपालमा पनि सामाजिक सञ्जालको प्रयोग हुनुपर्छ भन्ने धारणा सही नभएको स्पष्ट गर्दै मन्त्री शर्माले भन्नुभयो– ‘हाम्रो समाज तीन पुस्ता एउटै घरमा बसेर पारिवारिक र सामाजिक सद्भावसहित सांस्कृतिक मूल्य मान्यता हस्तान्तरण गर्दै अघि बढेको समाज हो । त्यसैले १८ वर्ष उमेर पुग्दा नपुग्दै घर छाडेर फरक फरक संस्कृति अवलम्बन गर्ने नागरिक बसोबास गर्ने समाजका मूल्य मान्यता यहाँ लागु हुनुपर्छ भन्ने धारणा सही होइन ।’

- Advertisement -
Ad imageAd image

सामाजिक सञ्जाल सम्बन्धी कानुन निर्माण गर्दा नेपाली जनताले लडेर ल्याएको अभिव्यक्ति स्वतन्त्रताको हकलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिँदै उहाँले नेपाली जनताको अभिव्यक्ति स्वतन्त्रताको हक र नेपाली समाजको विशिष्ट मूल्य मान्यताको रक्षाको सवाललाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका जारी भइसकेकाले सो निर्देशिका पनि कानुनमा निर्माणको महत्वपूर्ण आधार हुने उल्लेख गर्दै मन्त्री शर्माले यसमा स्वनियमन, सचेतना र नियमनलाई आधार बनाइने बताउनुभयो ।

स्वनियमनमा सहयोग पुगोस् भनेर विद्यालय शिक्षाको पाठ्यक्रममा उल्लेख गर्नेदेखि आम सञ्चारको माध्यमबाट साइबर सचेतनामा जोड दिने र त्यति गर्दा पनि सामाजिक सञ्जालको प्रयोग सुरक्षित हुन नसकेको खण्डमा नियमन गर्ने गरी कानुन निर्माणको तयारी भइरहेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

अन्तर्क्रियामा कानुन व्यवसायी, सूचना प्रविधि क्षेत्रका जानकार र डिजिटल मिडिया सञ्चालक लगायत विभिन्न क्षेत्रका सरोकारवालाहरुले सामाजिक सञ्जालसम्बन्धी कानुनमा समावेश गर्नुपर्ने विभिन्न पक्षहरूको बारेमा राय सुझाव दिनुभएको थियो ।

मन्त्रालयका सञ्चार महाशाखा प्रमुख तथा सामाजिक सञ्जालसम्बन्धी कानुन मस्यौदा समितिका संयोजक नेत्रप्रसाद सुवेदीले मस्यौदाका अन्तर्वस्तुबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
94%
2 km/h
मंगल
30 °C
बुध
29 °C
बिहि
27 °C
शुक्र
20 °C
शनि
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ