काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनसङ्ख्याको क्षेत्रमा काम गर्न नसकेको बताउनुभएको छ । सोमबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले जनसङ्ख्याको क्षेत्रमा काम गर्नका लागि छुट्टै विभाग आवश्यक भएको हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सबैतिर स्वास्थ्य भन्दै गर्दा जनसङ्ख्या सम्पूर्ण हिसावले छुटेको बताउनु भयो ।
जनसङ्ख्या छुट्ने कुरा गम्भीर रहेको र जनसङ्ख्यासम्बन्धीका केही तथ्याङ्कहरु डरलाग्दो रहेको बताउनु भयो । उहाँले १५ प्रतिशतभन्दा बढी भुगोल भएको हिमालमा अहिले ६ प्रतिशत जनसङ्ख्या हुनु र २३ प्रतिशत भूभाग भएको तराईमा ५३ प्रतिशत बढी हुनुले असन्तुलन बिग्रिन सक्ने बताउनु भयो ।
‘‘जनसङ्ख्या महाशाखाले काम गरिरहेको जस्तो लागेको छैन । छुट्टै विभाग चाहिने पो हो की ? अथवा तथ्याङ्क तथा जनसङ्ख्या विभाग चाहिने हो की । जनसङ्ख्याको काम स्वास्थ्यमा भएकै छैन । सबैतिर स्वास्थ्य भन्दै गर्दा जनसङ्ख्या सम्पूर्ण हिसावले छुटेको छ । जनसङ्ख्या छुट्ने कुरा गम्भीर हो । केही तथ्याङ्क डरलाग्दा छन् ।
१५ प्रतिशत भन्दा बढी भुगोल भएको हिमालमा अहिले ६ प्रतिशत जनसङ्ख्या छ ।,’’ सांसद पाण्डेले भन्नुभयो, ‘‘२३ प्रतिशत भूभाग भएको तराईमा ५३ प्रतिशत बढी छ । त्यो असन्तुलन छ । जनसाङ्ख्यिक लाभांश लिने कुरालाई राज्यले कुन रणनीतिका साथ उपयोग गर्छ यसमा गम्भीरताका साथ लिनुपर्छ ।’’ सांसद पाण्डेले जनसाङ्ख्यिक लाभांश लिने कुरालाई राज्यले गम्भीरताका साथ लिनुपर्ने बताउनु भयो ।