काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालमा शसस्त्र द्वन्द्व अन्त्यभएको लामो समय भएपनि नेपाली जनता अझै भय मुक्त हुन नसकेको बताउनुभएको छ । रुकुम जिल्ला कमिटि तत्कालिन सचिव एमाले नेता यदु गौतमको २५ औं स्मृतिमा बोल्दै सभामुख घिमिरेले नेपाली राजनीतिले आजभन्दा २५ बर्ष पहिले एक सच्चा र इमान्दार नेता गुमाएको बताउनुभयो ।
उहाँले समाजलाई अग्रपंतीमा पुर्याउन गर्नुभएको योगदानको प्रशंसा गर्दै सभामुख घिमिरेले तत्कालीन माओवादी द्वन्द्वमा एमाले पक्षका कयौं नेताहरुको ज्यान गएको उल्लेख गर्नुभयो । त्यहि क्रममा नेपाली समाजको मुक्तीकालागि अग्रसर यदु गौतमले आफ्नो ज्यानको आहुँती दिएको स्मरण गर्नुभयो ।
गौतमको स्मृतिमा आयोजित २२ औं पत्रकारिता पुरस्कार र २५ औं स्मृतिमा सभामुख घिमिरेले राज्यले गौतमको परिवारलाई अझै न्याय गर्न नसकेको स्विकार गर्नुभयो । उहाँले संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून निर्माणको अन्तिम चरणमा रहेकाले सो कानुन निर्माण भएमा पीडितहरुले न्याय पाउनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले वृहत शान्ति स्थापनाको करिव १७ वर्ष पूरा हुँदा पनि अहिलेसम्म न्याय निरुपण गर्ने काम नहुनु दुःखद् भएको समेत बताउनुभयो ।
शान्ति प्रक्रिया टुंग्याउन २०६३ सालमै शान्तिको घोषणा गर्दा द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन गर्ने, अब द्वन्द्वले पारेका असर अन्त्य गर्न सत्य निरुपण तथा मेलमिलाप वातावरण बनाउन कानून बनाउने र त्यो बाटोबाट हिजोका अशान्तिका घटनाहरु सदाको लागि अन्त्य गरेर अघि बढ्ने घोषणा भएकाले पीडितको पक्षमा कानून बन्नुपर्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो ‘पीडितहरुलाई महशुस हुनेगरी पीडितको पक्षमा कानून बन्नुपर्छ । अहिले विधेयक संशोधनको रुपबाट छलफलमा छ, कानून समितिबाट टुंगिने क्रममा छ,’ । कानून निर्माण भएसँगै अन्यायमा परेका पक्ष र द्वन्द्वले पारेका असरहरु सदाका लागि अन्त्य हुने उहाँको भनाई छ ।
कार्यक्रममा संघीय सांसद तथा एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले गौतमले नेपाली समाजमा पत्रकारीताको माध्ययमबाट पनि उल्लेखनीय काम गरेकाले उहाँको सम्झनामा हरेक बर्ष एक जना पत्रकारलाई सम्मान गर्ने गरिएको बताउनुभयो । तत्कालिन माओवादीबाट मारिएका गौतमले नेपाली राजनीतिमा अतुलनीय योगदान दिएको उहाँको भनाई छ ।
गौतमको निधनले सिंगो रुकुम जिल्ला र एमाले पार्टीमै ठुलो क्षति पुगेको थापाले बताउनुभयो । कार्यक्रममा यदु स्मृति प्रतिष्ठानकी अध्यक्ष सुजाता गौतमले द्वन्द्वको घाउ अझै निको नभएको बताउनुभयो । उहाँले आफ्ना बुवालाई अनाहकमा मारिएको भन्दै राज्यले यस विषयमा गम्भीर हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा यस वर्षको २२ औं यदु स्मृति पत्रकारिता पुस्कार पत्रकार टिका विष्टलाई प्रदान गरिएको छ । पत्रकार विष्टले गौतमको निधन सिंगो पत्रकारीता जगत र एमाले पार्टीकालागि निकै दःखत भएको उल्लेख गर्नुभयो ।
उहाँले गौतमले पत्रकारीताका माध्ययमबाट समाजकालागि उहाँले देख्नुभएको सपना नयाँ पीढिले पुरा गर्नुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा यदु स्मृति प्रतिष्ठान सचिव नारायण कुमार शाहले निष्पक्षरुपमा गौतमको सम्मानमा राज्यले अग्रसर्ता देखाउनु पर्ने बताउनुभयो । कार्यक्रमको सहजिकरण रुकुम—काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष विवेक पुन मगरले गर्नुभएको थियो ।