काठमाडौँ, ३ साउन : प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ । यो सँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको सङ्ख्या एक सय ८३ पुगेको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त समझदारीपत्रमा आज उक्त नियोगमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र उक्त विश्व संस्थाका लागि किरीबासका स्थायी प्रतिनिधि टेबुरोरो टिटोले हस्ताक्षर गर्नुभयो । साथै दुवै देशका राजदूतले नेपाल र किरीबासबीच कूटनीतिक सम्बन्ध कायम भएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी दिने पत्रमा पनि हस्ताक्षर गर्नुभयो । त्यस अवसरमा दुवै मुलुकका स्थायी प्रतिनिधिले अल्पविकसित मुुलुकका विकासका विषय, संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय मञ्चमा पारस्परिक लाभका क्षेत्रमा साझेदारी गर्दै आपसी हित र साझा चासोका विविध विषयमा विचार आदानप्रदान गर्नुभएको उक्त नियोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । बेलायतको उपनिवेशबाट १२ जुलाई १९७९ मा स्वतन्त्र भएको किरीबासको जनसङ्ख्या एक लाख २० हजार छ भने यो टापु राष्ट्र १४ सेप्टेम्बर १९९९ मा संयुक्त राष्ट्रसङ्घको सदस्य भएको हो । नेपाल र किरीबास जि–७७ र चीन तथा अल्पविकसित राष्ट्रहरूको समूहका सदस्य हुन् ।
किरीबाससँग कूटनीतिक सम्बन्ध स्थापना

प्रतिक्रिया
ट्रेन्डिङ
धरानमा श्रावण १५ भदौ ३१ गतेसम्म निःशुल्क दन्त परीक्षण शिविर हुने
धरान । धरानमा आगामी श्रावण १५ गतेदेखि सञ्चालन हुने निःशुल्क दन्त परीक्षण शिविरको प्रचारप्रसार सुरु…
बिरामी बुवाको उपचार खर्च लिएर बीपी जाँदै गरेका प्रधानाध्यापकको धरानमा दुर्घटनामा मृत्यु
धरान l सुनसरीको धरान स्थित बिरामी बुवाको उपचारको लागि बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार…

