Ad imageAd image

कर्णालीका दुई पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गरिँदै

राष्ट्रिय समाचार समिति(रासस)
4 मिनेटमा पढ्न सकिने

जाजरकोट, कर्णाली प्रदेशका दुई जिल्लामा रहेका पर्यटकीय क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सङ्घ र प्रदेश सरकारको लगानीमा काम सुरु हुने भएको छ । डोल्पा र हुम्लामा रहेका महत्त्वपूर्ण पर्यटकीय क्षेत्रलाई व्यवस्थित गर्नका लागि बजेट विनियोजन भई विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) का लागि बोलपत्र आह्वान सुरु भएको हो । हुम्लास्थित मानसरोवर प्रवेशद्वार नमुना एकीकृत पूर्वाधार कार्यक्रम सुरु गरी काम थालिएको पूर्वाधार विकास कार्यालय हुम्लाका प्रमुख नरेशराज जैशीले बताउनुभयो ।

उहाँका अनुसार प्रदेश र सङ्घीय सरकारको रु नौ/नौ करोड बजेटमा पूर्वाधार निर्माण सुरु हुन लागेको हो । सिमकोट गाउँपालिका–५ र ६ तथा खार्पूनाथ गाउँपालिका–५ मा पर्यटन पूर्वाधारको काम थालिएको जैशीले बताउनुभयो । दश किलोमिटर सडकको स्तरोन्नति तथा कालोपत्र, तीन विद्यालयको भवन निर्माणका साथै खार्पुनाथस्थित शिवमन्दिरको स्तरोन्नति गरिने उहाँले जानकारी दिनुभयो । पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख नवीन थापाका अनुसार अध्ययनका लागि बोलपत्र आह्वान गरेर मूल्याङ्कन गरी भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा पठाइएको छ ।

मन्त्रालयबाट स्वीकृत भएपछि मात्र डिपिआरको काम सुरु हुने उहाँको भनाइ छ । उपल्लो डोल्पामा पर्ने फोक्सुन्डो तालको किनाराको बस्तीलाई विकास गर्न सङ्घ र प्रदेश सरकारको लगानीमा पूर्वाधार निर्माण हुने उहाँले बताउनुभयो । शे–फोक्सुन्डो गाउँपालिका–७ र ८ को बस्तीलाई एकीकृत गरेर विकास गर्न लागिएको थापाले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा नै उक्त कामको सुरुवात हुनेछ ।

रु ४० करोडको काम हुने उहाँले बताउनुभयो । प्रदेशकै गौरवका रुपमा रहेको फोक्सुन्डो तालको संरक्षण र प्रवर्द्धनका लागि ताल किनाराको बस्तीलाई विकास गर्न लागिएको पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताउनभयो । उहाँका अनुसार फोक्सुन्डो ताल किनाराको ‘रिग्मो बस्ती विकास’ कार्यक्रम सञ्चालन गरेर काम अघि बढाइएको छ । पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले रु पाँच करोड विनियोजन गरेको शाहीले जानकारी दिनुभयो ।

- Advertisement -
Ad imageAd image

स्थानीय तहसँग समन्वय गरेर काम भइरहेको उहाँले बताउनुभयो । “फोक्सुन्डो तालको अवलोकनमा गएका पर्यटकले धेरै सास्ती पाउने गरेका छन्”, पूर्वमन्त्री शाहीले भन्नुभयो, “तालको दक्षिणी छेउमा रहेको रिग्मो गाउँमा आवश्यक पूर्वाधार निर्माण गरेर व्यवस्थित गर्न लागिएको हो ।” तालको संरक्षण गर्ने, धार्मिक महत्वका संरचना निर्माण गर्ने, रिग्मो गाउँलाई एकीकृत रूपमा विकास गर्ने कार्यक्रम रहेको पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख थापाले जनाउनुभयो । उहाँका अनुसार बहुवर्षीय योजना भएकाले अहिले सम्भाव्यता अध्ययन भइरहेको छ । वरिपरि पहाड र बीचमा फोक्सुण्डो ताल छ । डोल्पाको फोक्सुण्डो राष्ट्रिय निकुन्जभित्र पर्ने यो ताल नेपालको सबैभन्दा गहिरो ताल हो ।

डोल्पा सडक सञ्जालसँग जोडिएपछि अहिले यो क्षेत्र आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ । समुद्री सतहबाट तीन हजार छ सय ११ मिटर उचाइमा रहेको तालको लम्बाइ चार दशमलव आठ किलोमिटर र चौडाइ एक दशमलव छ किलोमिटर छ । गहिराइ छ सय ५० मिटर छ । पूर्वाधार निर्माण गरेर बढीभन्दा बढी पर्यटक भित्रयाउने लक्ष्य सरकारले राखेसँगै चालु आवको नीति तथा कार्यक्रममा समावेश गरेर काम अघि बढाइएको हो । शे–फोक्सुण्डो गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रमा १२ वर्षमा एक पटक लाग्ने गर्दछ । यहाँ आगामी वर्ष उक्त मेला लगाउन स्थानीय सक्रिय भएका छन् । मेलामा देश तथा विदेशबाट पाहुना आउने आयोजकले अपेक्षा गरेका छन् ।

गाउँपालिकाको मुख्य आयोजनामा हुने उक्त मेलाको सह–आयोजक डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिका रहेका छन् । डोल्पा जिल्लाका अन्य सबै छिमेकी स्थानीय तहसँग मेला सफल पार्न सहकार्य गरिने शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष एवं मेलाको मुख्य संयोजक धावा सम्डुक गुरुङले बताउनुभयो । अध्यक्ष गुरुङले मेला आगामी भदौ २ गतेदेखि ५ गतेसम्म माथिल्लो डोल्पाको ‘शे’मा सञ्चालन गर्नेगरी तयारी भइरहेको जानकारी दिनुभयो । जिल्लाका सबै सरोकारवाला निकायको साथ र सहयोग लिएर मेलाको आयोजना गरिने उहाँको भनाइ छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
scattered clouds
22° _ 22°
68%
1 km/h
शुक्र
31 °C
शनि
30 °C
आइत
29 °C
सोम
26 °C
मंगल
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ