संवाददाता
काठमाडौंः कास्कीको पोखरा नेपालकै सर्वाधिक प्रदूषित सहर बनेको छ। वातावरण विभागका अनुसार, बुधबार बिहान ११स्३० बजे पोखराको वायु गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १७९ पुगेको छ, जसले सबैका लागि अस्वस्थकर अवस्था दर्शाउँछ।
दोस्रो सर्वाधिक प्रदूषित सहर चितवनको भरतपुर रहेको छ, जहाँ सोही समयमा एक्यूआई १७० मापन गरिएको छ। यस्तै, ललितपुरको भैँसोपटी, खुमलटार, भक्तपुर, काठमाडौंको रत्नपार्क र शंखपार्क क्षेत्रमा एक्यूआई १५२ देखि १६९ को बीचमा रहेको छ, जसले यी क्षेत्रहरू पनि अस्वस्थकर बनेका छन्।
विभागको रिपोर्टअनुसार, पोखरामा पीएम २.५ को मात्रा १३६.९ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ, जुन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओं) को सुरक्षित सीमा भन्दा धेरै माथि हो।
डब्ल्यूएचओका मापदण्डअनुसार, एक्यूआई ५० सम्म सुरक्षित मानिए पनि १०१ भन्दा माथि पुग्दा बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरूका लागि हानिकारक हुन्छ। एक्यूआई १५१ भन्दा माथि पुगेमा सबैका लागि अस्वस्थकर हुन्छ, २०१ भन्दा माथि ‘अति अस्वस्थकर’ र ३०० पार गरेमा ‘खतरनाक’ अवस्थामा पुग्छ।
पीएम २।५ वायुमा मिसिएका सूक्ष्म कणहरू मापन गर्ने एक मुख्य तत्व हो, जसमा कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडलगायतका प्रदूषक तत्वहरू समावेश हुन्छन्। पीएम १० भने वायुमण्डलमा रहेका धुलोका कणहरूको मापन हो। वातावरणविद्हरूले वायु प्रदूषण नियन्त्रण गर्न तत्काल प्रभावकारी उपायहरू अपनाउन सरकारलाई आग्रह गरेका छन्।