Ad imageAd image

किसानलाई क्षतिपूर्ति दिन माग

संवाददाता
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

काठमाडौँ, २२ जेठ : प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा विभिन्न पार्टीका सांसदहरुले बालीमा क्षति व्यहोरेका किसानलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले चितवनको केराखेतीमा भएको क्षतिबारे सरकारको ध्यानार्कषण गराउँदै रु १५ करोड बराबरको क्षति भएको बताउँदै पीडित किसानलाई तत्काल बीमा रकम उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । उहाँले गत वर्षको भुक्तानी किसानले पाउनुपर्ने माग गर्नुभयो । उहाँले चितवन र खैरनी जिल्लामा मकै, केराखेती र वर्षे धानमा भएको क्षतिको विवरण प्रस्तुत गर्दै सम्बन्धित मन्त्रालयले तत्काल राहतको व्यवस्था गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले गणतन्त्र शासन व्यवस्थामा पनि जनताको जीवनस्तरमा उल्लेख्य सुधार नआएको बताउनुभयो । किसानहरुले समयमा बीउबिजन र मल प्राप्त गर्न नसकेकातर्फ सांसद पाण्डेले ध्यानाकर्षण गराउनुभयो । आगामी आवको बजेट कार्यान्वयन गर्न सहज नहुने उहाँले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सांसद अम्मरबहादुर थापाले दैलेख जिल्लाको गुरास गाउँपालिकाका राजेश शाही २०७८ सालदेखि बेपत्ता भएका भन्दै उनको खोजीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरुका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । जनता समाजवादी पार्टीका सांसद रन्जुकुमारी झाले चुरे क्षेत्रको संरक्षणमा सरकारको ध्यानाकर्षण गराउँदै वर्षायाममा हुन सक्ने प्राकृतिक विपत्तिको जोखिमप्रति सतर्क रहन सुझाव दिनुभयो । जनमत पार्टीका सांसद अब्दुल खानले संविधान संशोधनको माग गर्नुभयो । जनता समाजवादी पार्टी नेपालका सांसद रेखा यादवले एनसेल कर प्रकरणको छानबिनबारे स्पष्ट पार्न गृहमन्त्रीसँग जवाफको माग गर्नुभयो । उहाँले युवावर्गलाई विदेसिनबाट रोक्नुपर्छ भन्नुभयो । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले तराई मधेसमा खोनपानीको समस्यातर्फ आफूले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको बताउनुभयो ।

नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले मनसुनको जोखिममा रहेका भेगका बासिन्दालाई समयमै स्थानान्तरणको प्रबन्ध मिलाउन आवश्यक भएको विचार व्यक्त गर्नुभयो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले स्थानीय तहमा राष्ट्रिय परिचयपत्रका लागि विवरण भरेका ज्येष्ठ नागरिक र अशक्त अपाङ्गता भएकाको अनलाइन दर्ता नभएको हुँदा पुनः जिल्ला प्रशासनमा धाउनुपर्ने बाध्यताबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले राष्ट्रिय परिचयपत्र नहुँदा सामाजिक भत्ता नपाउने अवस्था उत्पन्न हुनहुँदैन भन्नुभयोे । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सहकारी अपचलनमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सरकार चुक्न नहुने बताउनुभयो ।

- Advertisement -
Ad imageAd image

आम जनता पार्टीका सांसद प्रभु साहले तराई मधेसमा खानेपानीको समस्याबारे सदन र सरकारको ध्यानाकर्षण गराउँदै चुरे संरक्षणका लागि सबै निकाय सचेत हुनुपर्ने सुझाव दिनुभयो । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले तराईका समुदायप्रति सरकार र बजेट उदासीन रहेको आरोप लगाउनुभयो । स्वतन्त्र सांसद योगेन्द्र मण्डलले हुलाकी सडक रङ्गेलीदेखि थाकखोलासम्म बनाउन थालेको पाँच वर्ष पूरा भइसक्दा पनि निर्माणसम्पन्न नभएको गुनासो गर्नुभयो । नेपाली कांग्रेसको सांसद शान्ति विकले भेदभावरहित समाज निर्माणका लागि आह्वान गर्नुभयो । उहाँले राजनीतिक व्यवस्था परिवर्तन भएता पनि दलित समुदायप्रतिको सोच र व्यवहार परिवर्तन हुन नसक्नु राजनीतिक दलका लागि चुनौतीको विषय भएको बताउनुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
31°C
Kathmandu
clear sky
31° _ 31°
21%
5 km/h
सोम
30 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
33 °C
शुक्र
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ