थाइल्याण्ड — थाइल्याण्डको नोन्थाबुरीमा रहेको एउटा माध्यमिक स्कुलमा शुक्रबार बिहान भएको गोलीकाण्डमा ७ जनाको मृत्यु भएको छ भने १५ जना भन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेहरूमा ३ जना शिक्षक, ३ जना विद्यार्थी र गोली चलाउने छात्र स्वयं रहेका छन्।
थाई प्रहरी र उद्धार अधिकारीहरूका अनुसार यो घटना नोन्थाबुरीको बाङ क्रुआई (Bang Kruai) जिल्लामा रहेको देवसिरिन नोन्थाबुरी स्कुल (Debsirin Nonthaburi School) मा बिहान करिब १० बजे भएको हो। सोही स्कुलमा पढ्ने एक छात्रले आफूसँग ल्याएको हतियारबाट स्कुल परिसरभित्र अन्धाधुन्ध गोली चलाउन सुरु गरेका थिए।
गोली चल्न थालेपछि स्कुलमा ठूलो त्रास फैलिएको थियो र शिक्षक तथा विद्यार्थीहरू ज्यान जोगाउन परिसरबाहिर भागेका थिए। खबर पाउनासाथ पोह टेक तुङ फाउन्डेसनका उद्धारकर्ता र थाई शाही प्रहरी टोली घटनास्थल पुगेका थिए। प्रहरीले स्कुल घेरा हाल्ने क्रममा गोली चलाउने छात्रले आफैँलाई गोली हानेर आत्महत्या गरेका थिए। घाइते १५ जनालाई तत्कालै नजिकैका अस्पतालहरूमा पुर्याएर उपचार भइरहेको छ।
घटनापछि थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री अनुतिन चानविराकुलले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै सम्पूर्ण सहयोगको निर्देशन दिनुभएको छ। प्रहरीले आक्रमणको मुख्य कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


