मुगु । हिमाली दुर्गम जिल्लाको खत्याड गाँउपालिकामा रहेको प्राथामिक स्वास्थ्य केन्द्र रातापानिलाई सेन्टर जेभियर कलेज र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० लाख भन्दा बढीको स्वास्थ्य सामाग्रीसहित औषधी सहयोग गरेको छ ।
सामान्य उपकरण र सिटामोलसम्म औषधी नपाएर ऋणको भारी बोकेर उपचार गर्न नेपालगंञ्ज,सुर्खेत र काठमाडौं जानुपर्ने बाध्याता कायमै भएको अवस्थामा वेड,सक्सन मेशिन,फोटल डप्लर, सेन्ट्रिफ्यूज मेशिन,ओटोस्कोप, बेडसाईड स्क्रिन,बिपी चेक मेशिन लगायत अन्य उपकरणसहित ७३ प्रकारका औषधी र सामाग्री सबै गरि ३० लाख भन्दा बढीको सहयोग गरेको हो ।
स्वास्थ्य संस्थामा पर्याप्त सामाग्री र औषधी अभाव भएको बेला विषेश गरि यी सामाग्री र औषधीले बुढाबुढी बालबच्चा र सुत्केरी आमालाई ठूलो राहत पुग्ने समाज सेवी अनिल बानियाँले बताए ।
बानियाँको पहलमा खत्याड गाँउपालिकामा कोभिडदेखी नै स्वास्थ्य संस्थाहरुमा विभिन्न उपकरण तथा औषधी सहयोग हुँदै आएको छ । गरिव बालबालिकाहरूलाई शिक्षामा परिवर्तन ल्याउनको लागी विद्यालय कपडा, स्टेसनरी, झोला, खेलकुद सामाग्रीहरु सहयोग गर्नुका साथै विभिन्न दैविक प्रकोप परेका स्थानीय नागरिकहरूलाई खाद्यान्न लगायत अन्य सहयोग गर्दै आईरहेका छन् ।
यो पटक पालिकामा रहेका स्वास्थ्य संस्थालाई स्वास्थ्य उपकरण र औषधी सहयोग गरेकोमा बानियाँलाई धन्यवाद दिँदै सहयोग भएका सामाग्री र औषधी सहित सदुपयोग गर्ने र खत्याडी बासीहरुलाई स्वास्थ्यमा ठूलो टेवा पुग्ने खत्याड गाउँपालिकाका सूचना अधिकारी बिरेन्द्र बहादुर शाहीले बताए ।