आङबुहाङ वंशको विवाद, इतिहास र अस्तित्वबारे खुला अन्तरक्रिया सम्पन्न

3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

मोरङ l मूल भूमि तथा थातथलो नेसुन–चाँगे (चेङ्या), हाङपाङ र सोबुवामा बसोबास गर्दै आएका समस्त आङबुहाङ वंश परिवारबिच हाल अनपेक्षित रूपमा सिर्जना भएको विवाद, असमझदारी र अन्योलताका विषयमा वंश, इतिहास र अस्तित्वसँग सम्बन्धित उठेका सवालहरूमा पारस्परिक छलफल तथा खुला अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

आङबुहाङ वंश प्रतिष्ठान मोरङको आयोजनामा सोमबार चाँगे माध्यमिक विद्यालयको सभा हलमा उक्त बृहत् छलफल तथा खुला अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो। प्रतिष्ठानका तदर्थ समिति संयोजक खगेन्द्र आङबुहाङको अगुवाइमा सम्पन्न कार्यक्रममा राजा थिन्दोलुङ खो–याहाङका १३औँ पुस्ता नामाहाङका सन्तति आङबुहाङ वंश परिवारको गौरवशाली इतिहास, पुर्खाहरूको वीरता र उनीहरूको अभूतपूर्व योगदानबाट आर्जित ऐतिहासिक विरासतलाई अविच्छिन्न रूपमा कायम राख्दै वंश, इतिहास र अस्तित्व संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताए।

उनले समय क्रमसँगै विभिन्न भूगोलमा छरिएर बसोबास गरिरहेका आङबुहाङ वंश दाजुभाइहरूबिचको एकता, भाइचारा र सद्भावलाई अझ दिगो र मजबुत बनाउँदै लैजानु आजको अपरिहार्य आवश्यकता रहेको उल्लेख गरे। तर विडम्बनाका रूपमा विगत लामो समयदेखि भरोसा र विश्वास गरिएका केही अग्रज पात्रहरूको निकृष्ट सोच, अकर्मण्यता र असन्तुलित कदमका कारण सिङ्गो आङबुहाङ परिवारमा अन्योल सिर्जना भएकोप्रति उनले दुःख व्यक्त गरे।

आङबुहाङले वंशावली तथा इतिहास लेखन कार्य तथ्य र प्रमाणको परिधिभित्र रहेर गरिनुपर्नेमा जोड दिए। अप्रमाणित तथा नमिलेका विषयहरूमा छलफल, परामर्श र सहमतिमार्फत आधार खोजिनुपर्ने भए पनि इतिहासलाई मनोमानी ढङ्गले तोडमोड गर्ने र वंशको इतिहास बिगार्ने कार्य क्षम्य नहुने उनले बताए।

प्रतिष्ठानले वंशावली–इतिहास लेखन तथा प्रकाशनका सन्दर्भमा विक्रम संवत् २०८२ भदौ २८ गते धरानमा बहुसङ्ख्यक वंश दाजुभाइहरूलाई बहिष्कार गरी स्वार्थ समूहद्वारा चालिएको अवैधानिक, असन्तुलित, अपारदर्शी र अराजक वंश घाती कदमप्रति असन्तुष्टि जनाएको छ। साथै उक्त कार्यलाई अनुमोदन गर्न २०८२ पौष २३ गते गरिएको कथित साधारण सभाले फरक विचार, तथ्य र यथोचित खबरदारीलाई बलपूर्वक निषेध गर्दै वंश दाजुभाइहरूबिचको एकता, सद्भाव, आन्तरिक लोकतन्त्र तथा न्यूनतम विधि र प्रक्रियाको समेत धज्जी उडाएको आरोप लगाइएको छ।

आङबुहाङका अनुसार आङबुहाङसहित छ उपथरी वंश परिवारको छाता सङ्गठन थिन्दोलुङ खो–याहाङ वंशज सङ्घ, केन्द्रीय समितिले समेत उक्त अराजक वंश घाती कदमलाई मान्यता नदिएको स्पष्ट भइसकेको छ। यही पृष्ठभूमिमा वंश दाजुभाइहरूबिच सिर्जना भएको विवाद, असमझदारी र अन्योलताका विषयमा तथा वंश, इतिहास र अस्तित्वसँग सम्बन्धित उठेका सवालहरूमा पारस्परिक छलफल र खुला अन्तरक्रिया आवश्यक ठानी कार्यक्रम आयोजना गरिएको उनले बताए।

सेयर: 21
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
mist
13° _ 13°
94%
1 km/h
मंगल
22 °C
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ