बैंकक — प्रवासमा रहेर नेपाली भाषा, कला र साहित्यको प्रवर्द्धनमा सक्रिय संस्था ‘साहित्य मन थाइल्याण्ड’ले आफ्नो नियमित अनलाइन कार्यक्रम ‘आदर्श दिव्य दर्पण’को २५औं रजत शृङ्खला भव्य रूपमा सम्पन्न गरेको छ। सेप्टेम्बर १२ तारिख शनिबारका दिन १६१औं मोती जयन्तीको अवसर पारेर ‘गजल र अर्चना’ शीर्षकमा विशेष गजल वाचन तथा विमर्श कार्यक्रम आयोजना गरिएको हो।
साहित्य मन थाइल्याण्डको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रममा नेपाल तथा थाइल्याण्डका अग्रज तथा उदीयमान गजलकारहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि गजलमा विद्यावारिधि गर्नुभएका डा. नारायण गैरेले नेपाली गजलको सैद्धान्तिक तथा व्यावहारिक पक्षमाथि प्रकाश पार्नुभयो। उहाँले नेपाली गजल लेखनमा विषम छन्दभन्दा सम छन्दको प्रयोग प्रभावकारी हुने बताउँदै ६ अक्षरीदेखि २४ अक्षरी लोकछन्दसम्ममा गजल रचना गर्न सकिने उल्लेख गर्नुभयो। “सुरुवाती चरणमा लय, मतला, मक्ता, काफिया र रदिफ मिलाएर लेख्दै जाँदा रचना अभिधा अर्थबाट माथि उठ्छ। त्यसपछि बिम्बात्मकता, प्रतीकात्मकता र लचकता स्वतः आउँछ र गजल स्तरीय बन्छ,” डा. गैरेले स्पष्ट पार्नुभयो।
विशिष्ट अतिथिका रूपमा उपस्थित परिचित सर्जक, कवि तथा गजलकार नारायण नेपालले मंगलाचरण गणपति वन्दना गाएर गजल गायनको सुरुआत गर्नुभएको थियो। उहाँले गजलको संरचनाबारे चर्चा गर्दै पहिलो पङ्क्तिको परिपूर्ति दोस्रोले गर्ने र एउटै गजलका विभिन्न सेयरहरूले फरक-फरक भाव बोक्ने भएकाले गजलको छुट्टै शीर्षक नहुने प्राविधिक पक्ष प्रस्ट्याउँदै आफ्ना रचना प्रस्तुत गर्नुभयो।
त्यसैगरी अर्का विशिष्ट अतिथि, तीन दशकभन्दा लामो समयदेखि नेपाली साहित्यमा सक्रिय कविवर धनकुटे कान्छाले नेपाली गजलको ऐतिहासिक संघर्ष स्मरण गर्नुभयो। दुई दशकअघि अग्रजहरूले गजललाई विधा नै नमानेर ‘अगजल’ भन्ने गरेको अवस्थाबाट गुज्रँदै आज तामाङ, लिम्बु, कुमाल, अवधी जस्ता विभिन्न मातृभाषामा गजल लेखिनु गर्वको विषय भएको उहाँले बताउनुभयो। गजल वाचनसँगै गायन पक्षलाई पनि सशक्त बनाउनुपर्नेमा उहाँको जोड थियो। साहित्यका साथै चराको आवाजको सजीव नक्कल गर्न सक्ने नेपालकै पहिलो अनौठो प्रतिभाका धनी धनकुटे कान्छाले स्वास्थ्य प्रतिकूलताका बाबजुद बिहानीपख चराले दिने सन्देशको आवाज निकालेर सहभागीहरूलाई मन्त्रमुग्ध पार्नुभएको थियो।
कार्यक्रममा थाइल्याण्डबाट गजलकारहरू राज पौड्याल, रविचन्द्र अधिकारी र भीम खनालले आ-आफ्ना उत्कृष्ट गजलहरू वाचन गर्नुभएको थियो।
‘आदर्श दिव्य दर्पण’को रजत शृङ्खलाको सभापतित्व साहित्य मन थाइल्याण्डका अध्यक्ष ओम प्रकाश न्यौपानेले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन दीपा रानाले गर्नुभएको थियो। प्रवासमा बसेर पनि नेपाली गजलको उन्नयनमा कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन्।


