विराटनगर I राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट गठबन्धनका साझा उम्मेदवार कृष्ण प्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
आज बिहान विराटनगरस्थित कोशी प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा उहाँले उम्मेदवारी दर्ता गराउनु भएको हो । सिटौलाको प्रस्तावकमा प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की रहनु भएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसका नेता कार्यकर्ता सहित सिटौला उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुग्नु भएको थियो ।
यसै गरी नेकपा माओवादी केन्द्रको तर्फबाट चम्पादेवी कार्कीले उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँको प्रस्तावकमा गणेश उप्रेती र समर्थकमा रामकुमारी खत्री रहनु भएको छ ।
यसै गरी नेकपा एमालेले पनि केहीवेरमा मनोनयन दर्ता गराउने कार्यक्रम रहेको बुझिएको छ ।
निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ ।
सोमबार दर्ता भएका उम्मेदवारको अन्तिम नामावली पुस २७ गते प्रकाशन गर्ने आयोगको कार्यतालिका छ । यससँगै पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गर्नेछन् ।
माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदान सकिए लगत्तै गणना गरिने आयोगले जनाएको छ । राष्ट्रिय सभामा रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको हो ।