धरान । दार्चुलाको दुम्लिङ क्षेत्रमा निर्माणाधीन झोलुङ्गे पुलका लागि सञ्चालन गरिएको जनसहभागितामूलक आर्थिक अभियानको आयव्यय विवरण सार्वजनिक गरिएको छ। आइतबार धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत पुल निर्माण समितिले हालसम्म सङ्कलन भएको रकम, खर्च र मौज्दातबारे विस्तृत जानकारी सार्वजनिक गरेको हो।
समितिका अनुसार क्युआर कोड र प्रत्यक्ष सहयोगमार्फत हालसम्म २ करोड ५० लाख ३७ हजार १०१ रुपैयाँ सङ्कलन भएको छ। उक्त रकममध्ये पुल निर्माण तथा अभियान सञ्चालनका विभिन्न शीर्षकमा १ करोड २९ लाख २९ हजार १७४ रुपैयाँ खर्च भएको जानकारी दिइएको छ।
पत्रकार सम्मेलनमा बोल्दै समितिका पदाधिकारीहरूले अभियान पूर्ण रूपमा जनसहभागितामा आधारित रहेको उल्लेख गर्दै हरेक रुपैयाँको हिसाब सार्वजनिक गरेर पारदर्शिता कायम गर्न खोजिएको बताए। उनीहरूका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री खरिद, उपकरण, ढुवानी, क्याम्प व्यवस्थापन, यातायात, खाना तथा अन्य प्राविधिक कार्यमा रकम खर्च गरिएको हो।
सार्वजनिक गरिएको विवरणअनुसार निर्माण सामग्री खरिदमै सबैभन्दा बढी रकम खर्च भएको छ। त्यस्तै निर्माण स्थल दुर्गम क्षेत्रमा रहेकाले सामग्री ढुवानी, कामदारको व्यवस्थापन र दैनिक सञ्चालनमा पनि उल्लेख्य खर्च भएको समितिको भनाइ छ।
खर्च कटाएर हाल अभियानको खातामा १ करोड २० लाख ६१ हजार ३९३ रुपैयाँ १ पैसा मौज्दात रहेको समितिले जनाएको छ। बाँकी रहेको रकम पुल निर्माणको आगामी चरणमा प्रयोग गरिने पनि जानकारी दिइएको छ।
दार्चुलाको विकट क्षेत्रमा रहेको दुम्लिङ झोलुङ्गे पुल निर्माणका लागि केही महिनाअघि सामाजिक सञ्जालमार्फत क्युआर कोड सार्वजनिक गर्दै आर्थिक सहयोग सङ्कलन अभियान सुरु गरिएको थियो। अभियानमा नेपालभित्र तथा विदेशमा रहेका नेपालीहरूले उत्साहजनक सहयोग गरेका थिए।
समितिले सहयोग गर्ने सम्पूर्ण दाताप्रति आभार व्यक्त गर्दै पुल निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढिरहेको जनाएको छ। साथै आगामी दिनमा पनि आवश्यक परे आयव्यय विवरण नियमित रूपमा सार्वजनिक गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।
संवाददाता







