बैंकक, थाइल्यान्ड – म्यान्मा र थाइल्यान्डमा दशकौँदेखि बसोबास गर्दै आएका नेपाल मूलका गोर्खाली समुदायले आफ्नो पहिचान, नागरिकता, र भविष्यबारे नेपाल सरकार, नेपाली सञ्चारमाध्यम, तथा केही नेपाली कलाकारहरूप्रति गुनासो व्यक्त गरेका छन्। उनीहरूले आफूहरूलाई अनावश्यक रूपमा नेपाल सरकारको नीतिगत दायरामा ल्याउन खोजिएको र गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा पिपुल अफ नेपाली ओरिजिन (पीएनओ) जस्ता अवधारणाहरू जबरजस्ती लागू गर्न खोजिएकोप्रति असहमति जनाएका छन्।
म्यान्मा र थाइल्यान्डमा रहेका नेपाली मूलका गोर्खालीहरूले पुस्तौँदेखि आफ्नो भाषा, संस्कृति, रहनसहन, र परम्परा जोगाइरहेका छन्। उनीहरू भन्छन्, “हामी नेपाली मूलका भए पनि नेपालका नागरिक होइनौँ, हाम्रा पूर्वजहरूले म्यान्मा र थाइल्यान्डलाई नै आफ्नो मातृभूमि स्वीकार गरिसकेका छन्।” गोर्खाली समुदायका अनुसार, म्यान्मामा उनीहरूले पुर्खाहरूको बहादुरीका कारण नागरिकता प्राप्त गरेका छन्, भने थाइल्यान्डमा उनीहरूको इमानदारी र मेहनतकै कारण नागरिकता सुरक्षित भएको छ।
युवा पुस्ताका अनुसार, म्यान्माका गोर्खालीहरूले नागरिकता पाउनका लागि दशकौँ लामो संघर्ष गरेका थिए, जुन अहिले राजनीतिक स्वार्थले प्रभावित पार्ने प्रयास भइरहेको छ। एनआरएनएले म्यान्मा र थाइल्यान्डका नेपाली मूलका नागरिकहरूलाई आफ्नो संरचनामा समावेश नगर्ने नीति अपनाएपछि उनीहरूले आफूलाई एनआरएनएको दायरामा ल्याउनु आवश्यक नरहेको बताएका छन्। उनीहरू भन्छन्, “हामी एनआरएनएमा अट्ने नागरिक होइनौँ, हाम्राे इतिहास फराकिलो छ, बलियो छ। हामी नेपाललाई सम्मान गर्छौं, तर नेपालमा नागरिकताको दाबी गर्दैनौं।”
नेपाल सरकारले गैरआवासीय नेपालीका लागि एनआरएनए परिचय पत्र (आईडी) तथा पिएनओ कार्ड उपलब्ध गराउने योजना अघि सारेपछि म्यान्मा र थाईका गोर्खालीहरूले यस अवधारणाको घोर विरोध गरेका छन्। उनीहरूले नेपाल सरकारलाई गोर्खालीहरूको स्वतन्त्र पहिचानमाथि हस्तक्षेप नगर्न आग्रह गर्दै भनेका छन्, “हामी पहिचान भएका नागरिक हौँ, शरणार्थी होइनौँ। हामीलाई पिएनओ कार्ड आवश्यक छैन, हाम्रो परिचय नै पर्याप्त छ।”
गोर्खाली समुदायले नेपाली राजनीतिप्रति आक्रोश व्यक्त गर्दै भनेका छन् कि नेपाल सरकारले गैरआवासीय नेपालीहरूको नाममा व्यवसायीहरूलाई मात्र फाइदा पुग्ने निर्णय गर्दैछ। उनीहरू भन्छन्, “हामी नेपाल सरकारबाट कुनै सुविधा, सहायता वा नागरिकताको दाबी गर्दैनौँ। हामी नेपालका ऐतिहासिक परम्परालाई सम्मान गर्छाैँ, तर हामीलाई नेपालले दिएको एनआरएनए वा पिएनओ कार्ड आवश्यक छैन।”
उनीहरूले नेपाल सरकारलाई चेतावनी दिंदै भनेका छन्, “हामी कुनै बाहिरी राजनीतिक हस्तक्षेप बिना स्वतन्त्र रूपमा यहाँ बसिरहेका छौं। हाम्रो समुदायलाई एनआरएनए र पीएनओमा जोड्ने काम बन्द गरियोस्। बैंककमा हुने भनिएको पीएनओ युवा सम्मेलनमा नेपालका मन्त्रीहरूलाई सहभागी नगराइयोस्।”
गोर्खाली समाजको पहिचान रक्षा गर्ने प्रतिबद्धता
म्यान्मा र थाइल्यान्डका गोर्खाली समुदायले नेपाली संस्कार, परम्परा, भाषा, र सभ्यतालाई संरक्षण गर्दै आएका छन्। उनीहरूका अनुसार, गोर्खालीहरूको संस्कृति अझै पनि शुद्ध रूपमा सुरक्षित छ, जसलाई नेपालमा समेत सिक्न सकिन्छ। उनीहरू भन्छन्, “हाम्रो भाषा, हाम्रो परम्परा, हाम्रो रहनसहन शुद्ध नेपाली छ। यदि कसैलाई सिक्न मन छ भने हामी म्यान्मा आउन स्वागत गर्छौं, तर नेपाल सरकारको हस्तक्षेप हामीलाई स्वीकार्य छैन।”
गोर्खाली युवाहरूको साझा सञ्जालले नेपाल सरकार र एनआरएनएलाई चेतावनी दिँदै भनेको छ, “हामीले नेपाली पहिचान जोगाएका छौं, तर हामी नेपाल सरकारका नागरिक होइनौँ। हाम्रो भविष्य अन्धकारमा पार्ने कुनै पनि राजनीतिक गतिविधि सह्य हुने छैन। एनआरएनए वा पीएनओ कार्डको दायरा हामीमाथि लागू गर्ने प्रयास नगर्न अनुरोध छ। हामीले नेपाली इतिहासका पानाहरूमा कालो धब्बा थप्न दिने छैनौँ।”