Ad imageAd image

किसानको पीडा : आगोले गहुँबाली खायो, अब हामी के खाने ?

राष्ट्रिय समाचार समिति(रासस)
4 मिनेटमा पढ्न सकिने

कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-७ बाबास्थानका सन्तोषबहादुर मगरले महिनौ मिहेनत गरेर फलाएको गहुँ काटेर घर भित्र्याउने तयारीमा हुनुहुन्थ्यो ।

त्यही बेला गत साता एक्कासी आगलागी भएपछि गहुँबालीको थुप्रो खेतमै जलेर खरानी भयो । महिनौको मिहेनत आगोको लप्काले क्षणभरमै खरानी भएपछि मगर अहिले निकै चिन्तित हुनुहुन्छ ।

“महिनौ मिहेनत गरेर उब्जाएको गहुँको एक दाना पनि जोगाउन सकिएन । आगोले क्षणभरमै सबै खरानी बनायो,” मगर भन्नुहुन्छ, “घरभित्रको अन्नपात पनि सकियो, भित्र्याउनै आँटेको गहुँबाली पनि खरानी भएपछि अब के खानुर कसरी बाँच्नु ?”मगर परिवारले १२ कठ्ठा जमिनमा गहुँबाली उब्जाएको थियो ।

त्यही अन्नले १५ जनाको परिवारको छाक टार्नुपर्ने थियो । विगतका वर्षभन्दा यस वर्ष पर्याप्त सिंचाइ तथा उन्नत जातको बीउ प्रयोग भएकाले मगर परिवारले तुलनात्मकरुपमा विगतभन्दा बढी गहुँ हुने आशामा थियो ।

- Advertisement -
Ad imageAd image

उहाँ भन्नुहुन्छ,“यो वर्ष तीन-चार पटक सिंचाइ गर्यौँ । उन्नत जातको बीउ र पर्याप्त मल खादको प्रयोग भएकाले अघिल्लो वर्षभन्दा राम्रो उत्पादन हुने आशा थियो तर आगोले गहुँमात्रै होइन हाम्रो आशा पनि खरानी बनाइदियो ।”

बाबास्थानकै नरेश कुमालको पनि सोही दिनको आगलागीले एक बिघा जमिनको गहुँबाली जलेर नष्ट भयो । यतिबेला कुमाललाई सात जनाको परिवारलाई के खुवाउने र गोठमा रहेका बीस बाख्रा र तीन भैँसीलाई वर्षभरी कसरी पाल्ने भन्ने चिन्ताले पिरोलिरहेको छ ।

“गहुँ काटेर मुठा बाँधिसकेका थियौँ । आगोले पूरै जलेर राख भयो । अहिलेसम्म यस्तो विपत्ति कहिल्यै भएको थिएन,” उहाँ भन्नुहुन्छ, “घरभित्रको अन्न पहिल्यै खाएर सकिसक्यो ।

अब खानलाई अन्न छैन, कसरी गुजारा गर्ने ?” कुमाल परिवारले कृषिलाई नै मुख्य उद्यम बनाएर यहीँबाट आएको पैसाले घरखर्च चलाउने गरेको थियो ।

“विगतमा त्यही खेतमा उब्जेको गहुँ वर्षभरीलाई राखिन्थ्यो र बाँकी बिक्री गरेर घरखर्च चलेको थियो । यो वर्ष भने आगोले सखाप बनाएपछि आफूलाई मात्रै होइन छिमेकीबाट सापटी लिएको गहुँ पनि फिर्ता गर्न पाइएन”, उहाँले दुखेसो पोख्नुभयो ।

गत बिहीबार रुखको हागा टुटेर बिजुलीको तारमा परेपछि त्यसैबाट गहुँबालीमा आगो सल्केको स्थानीय भनाइ छ । आगलागीबाट बाबास्थानका १५ किसानको करिब ११ बिघा जमिनको गहुँबाली जलेर नष्ट भएको थियो ।

पसिना चुहाउँदै महिनौ मेहनत गरेर लगाएको बाली खरानी भएपछि पीडामा रहेका तिनै किसान अहिले वस्तुभाउका लागि जलेको गहुँ संकलन गरिरहेका छन् ।

तीन विघा जमिनको गहुँबाली जलेपछि पीडामा रहेका स्थानीय लालबहादुर पुनमगर भन्नुहुन्छ,“बाख्रा, बङ्गुरलगायत वस्तुभाउका लागि होला भनेर खरानीसहितको जलेको गहुँ बटुलिरहेका छौँ । अघिल्लो पटक ४० क्विन्टल गहुँ बिक्री गरेकामा यो पटक वस्तुभाउका लागि खरानी बटुलेर बस्नु परेको छ ।”

आगलागीबाट जोगिएको एक विघा जमिनबाट मात्रै यो वर्ष ३० क्विन्टल गहुँ उत्पादन भएको उहाँको भनाइ छ । लालबहादुरले बाख्रा, भैँसी र बङ्गुरपालन पनि गर्नुभएको छ । तीन विघा जमिनको गहुँ खरानी बनेपछि बाख्रा, भैँसी र बङ्गुर पालनमा पनि धक्का लागेको उहाँको गुनासो छ ।

“गहुँ त जल्यो, जल्यो, वस्तुभाउका लागि भुसा पनि रहेन । चौपायालाई कसरी पाल्ने भन्ने चिन्ता छ,” उहाँले भन्नुभयो, “आगो लागेको दस मिनेटमै पूरै बाली जलेर खरानी भयो । दमकल नआएको भए बाबास्थान बजार पनि जल्थ्यो”, लालबहादुरको बुझाइ छ ।

बाली भित्र्याउने समयमा विपत्ति परेपछि पीडामा रहेका किसान क्षतिको मूल्याङ्कन गरी सरकारले राहत उपलब्ध गराउने अपेक्षामा छन् । पीडित किसानले स्थानीय पालिकामा क्षतिको विवरण पनि बुझाइसकेका छन् ।

दोधारा चाँदनी नगरपालिकाले राहतस्वरुप प्रत्येक किसानलाई तत्काल पाँच हजार वितरण गरेको छ ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
94%
1 km/h
बुध
27 °C
बिहि
27 °C
शुक्र
24 °C
शनि
28 °C
आइत
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ