गण्डकी, ८ असार : कास्कीको पोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ । यातायात व्यवस्था कार्यालय कास्कीले उक्त एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य तुरुन्त बन्द गर्न शुक्रबार सार्वजनिक सूचना जारी गरेको हो । सूचनाको अटेर गरी यात्रु बोक्ने कार्य जारी राखेमा यसमा संलग्नलाई कारबाही गरिने सूचनामा उल्लेख छ । यातायात व्यवस्था कार्यालय (सवारी) पोखराका प्रमुख डिल्लीराम रिजालले कानुनविपरीत निजी सवारीसाधनले ‘राइड सेयरिङ’ सेवा सञ्चालन गरिरहेको पाइएकाले त्यसलाई रोक लगाइएको बताउनुभयो । “अनधिकृत रुपमा एपको प्रयोग गरी यात्रु बोकेमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कारबाही हुन्छ”, उहाँले भन्नुभयो, “प्रकाशित सूचना अनुसार काम भए नभएको बारेमा प्रहरीको सहयोगमा कडाइका साथ अनुगमन गर्छौं ।” गण्डकी प्रदेशमा ‘राइड सेयरिङ’ एपमार्फत हुने यातायात सेवालाई वैधानिक बनाउन सवारी तथा यातायात व्यवस्था नियमावली–२०८० मा व्यवस्था भए पनि नियमनका लागि कार्यविधि भने बनेको छैन । नियमावलीमा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधनले यात्रु बीमासहित तोकिएको प्रक्रिया पूरा गरेर यात्रु बोक्न पाउने व्यवस्था छ । साथै यातायात कार्यालयले नै सार्वजनिक सवारीका लागि भाडादर तोक्ने गर्छ । तर हाल सञ्चालनमा रहेका इन्ड्राइभलगायतका निजी सवारीसाधनले भने आफै एप बनाएर भाडादर आफै लागु गर्ने गरेका छन्, तर कानुनअनुसार यस्तो कार्य अवैध हो । “नियमवली बनेपछि मापदण्ड नबन्दा गण्डकी प्रदेशमा राइड सेयरिङ सेवालाई नियमन गर्न सकिएको छैन”, कार्यालय प्रमुख रिजालले भन्नुभयो, “अहिले यातायात कार्यालयको अनुमतिसमेत नलिई आफूखुसी एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य भइरहेको छ, आफै भाडा तोकेर सञ्चालन भएको छ । यातायात कार्यालयले समायोजन गर्ने गरेको भाडाबमोजिम छ कि छैन भनेर पनि निजी सवारीसाधनले हेर्ने गरेका छैनन् । गण्डकी प्रदेशमा राइड सेयरिङ सेवा गैरकानुनी छ ।” मापदण्ड र कार्यविधि बनेपछि मात्र निजी सवारीसाधन ‘राइड सेयरिङ’मा दर्ता हुन पाउने छन् । मोबाइल एपको प्रयोगमार्फत यातायात सेवा लिन सकिने ‘राइड सेयरिङ’हरु पोखरामा यात्रु भने बढ्दै छन् । यहाँ यी सवारीसाधन लोकप्रिय बन्दै गएका भए पनि नियमन गर्न र वैधानिक बनाउन भने सकिएको छैन । नेपालमा पठाओ, टुटल, सहारा, इनड्राइभ, सजिलो, ट्याक्सिमान्डु, क्याब ट्याक्सीलगायत राइड सेयरिङ एप सञ्चालनमा छन् ।
पोखरामा इन्ड्राइभलगायतका ‘राइड सेयरिङ’ सञ्चालनमा रोक
प्रतिक्रिया
ट्रेन्डिङ
थाइल्याण्डको राजधानी बैंककमा धार्मिक कृति ‘सारगीता’ को भव्य लोकार्पण
बैंकक, थाइल्याण्ड । नेपाली भाषा, कला र संस्कृतिको प्रवर्धन सक्रिय संस्था साहित्य मन थाइल्याण्डको आयोजनामा…
दूतावासको ‘कागजी उद्धार’ कि पीडितमाथि व्यापार? ४६ जना नेपाल फर्किए, तर १-१ लाख असुलिएको खुलासा!
बैंकक, थाइल्याण्ड । नेपाली राजदूतावास बैंककले कम्बोडियाका विभिन्न स्क्यामिङ सेन्टरमा अलपत्र परेका ४६ जना नेपालीलाई…
