बैंकक- विश्व आमाबुबा दिवसको अवसरमा साहित्य मन थाइल्याण्डले आफ्नो चर्चित अनलाइन साहित्यिक कार्यक्रम ‘आदर्श दिव्य दर्पण’को १८औं शृङ्खला सफलतापूर्वक सम्पन्न गर्यो। मे ३० तारिख शनिबार आयोजित यस कार्यक्रम ‘अक्षर र आशिर्वाद’ विषयवस्तुमा केन्द्रित थियो। साहित्य मनको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिएको यस कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष ओमप्रकाश न्यौपानेले गर्नुभयो भने सञ्चालनको जिम्मेवारी दिपा रानाले सम्हाल्नुभयो।
बंगलादेशस्थित भाषिक अभियन्ता, लेखक एवं कवि मनेजबहादुर गोर्खा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभयो। सन् १८७१ देखि ब्रिटिश शासनविरुद्ध विद्रोह गर्ने जनजातिलाई दमन गर्न ल्याइएका सिक्रेट गोर्खा रेजिमेन्टका सैनिकहरूबाट सात पुस्ता भएको आफ्नो परिवारको इतिहास साझा गर्दै उहाँले बंगलादेशी समुदायमा बसोबास गर्दा भाषा, संस्कृति र परम्परा जोगाउनुका चुनौतीहरू बयान गर्नुभयो। मात्र २० घर नेपाली भएर पनि आफ्नो भाषा र संस्कृति जीवित राख्दै आएको बताउँदै उहाँले संगीत र कविताका माध्यमबाट पछिल्लो पुस्तालाई मातृभाषा सिकाउँदै आएको अनुभव सुनाउनुभयो र आफ्ना रचनाहरू पनि वाचन गर्नुभयो।
नेपालगञ्जबाट पूर्णतारा फाउन्डेसनकी अध्यक्ष, कवि, उपन्यासकार एवं संस्कृतिचिन्तक श्रीमती तारा रोकाय विशेष अतिथिका रूपमा सहभागी हुनुहुँदै ‘आमाको मूल्य’ र ‘हे आमा’ कविता वाचन गर्नुभयो।
नेपालबाट सहभागी अन्य साहित्यकारहरूले पनि आआफ्ना रचना प्रस्तुत गर्नुभयो। सन्ध्या रेग्मीले ‘शुभाशीष’ र ‘समय अझै बाँकी छ’ सहित तीन कविता, जगतराम यादवले ‘अक्षर र आशिर्वाद’ तथा अवधी भाषामा ‘जिन्दगी’ कविता, रूपक अधिकारीले ‘कविको मिसक्यारेज’, ममिला पौडेल आस्थाले दुई मुक्तक र ‘हिमालकी हिउँ’, मनोज चौधरी र रविचन्द्र अधिकारीले क्रमशः कविता र ‘स्थान गर्दैमा पाप पखालिन्छ र’, अंकर अञ्जान सहयात्रीले मुक्तक र ‘छोरी’, राज पौडेलले ‘नारी’, भीमलाल खनालले दुई गजल तथा मीरा जी एमले ‘अक्षर र आशिर्वाद’, ‘ईश्वरको अदालतमा’ र ‘प्रतीक्षा यस्तो होस्’ कविता वाचन गर्नुभयो।
विश्व आमाबुबा दिवसको भावनासँग जोडिएको यस कार्यक्रमले साहित्य, भाषा र मातृप्रेमको त्रिवेणी बनाएर उपस्थित सबैलाई भावविभोर बनायो। साहित्य मन थाइल्याण्डले यसरी नियमित साहित्यिक मञ्च प्रदान गर्दै नेपाली भाषा र साहित्यलाई विदेशी भूमिमा जीवन्त राख्दै आएको छ।
अध्यक्ष






