राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसदहुँदै उपसभामुख निर्वाचित भएकी इन्दिरा राना मगर यसअघि समाजसेवामा सक्रिय थिइन् । राजनीतिमा आउनुअघि उनी बन्दी सहायता नेपाल नामक गैरसरकारी संस्था की अध्यक्षका थिइन् । जेल सजाय भोगिरहेका महिलाहरूका कलिला सन्तानको शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल देश–विदेश घुमिरहन्थिइन् । यही क्रममा उनी पटकपटक थाइल्याण्ड पनि पुगेकी थिइन् । उपसभामुख मगरले थाइल्याण्ड नेपालडटकमसँग आफ्ना थाइल्याण्ड भ्रमणको अनुभव यसरी सुनाइन् ः
![](https://thailandnepal.com/wp-content/uploads/2024/02/Indrira-Ranamagaer-8-1024x692.jpg)
सन् २००३ मा श्रीलंका जाँदाखेरी थाइल्याण्डमा ट्रान्जिट भएको थियो । त्यतिबेला श्रीलंका पुग्दा धेरैले मलाई थाइ युवती ठानेँ । कारण, मेरो अनुहारमात्रै होइन, कपालको कट पनि थाइ नै थियो । यद्यपी त्यतिबेलासम्म मैले थाइल्याण्ड घुमेको थिइनँ ।
![](https://thailandnepal.com/wp-content/uploads/2024/02/Indrira-Ranamagaer-7-1024x683.jpg)
सन् २००५ मा ‘अशोका फेलो’ भएपछि म पहिलोपटक सन् २००७ आइसिपिएको कार्यक्रममा सहभागी हुन थाइल्याण्ड पुगेको थिएँ । त्यतिबेला हामीलाई बैंककको फाइभस्टार होटलमै राखेको थियो । मैले त्यहाँको ट्रेनहरु चढेँ । धेरै मसाज सेन्टरहरु देखेँ । त्यतिबेला कार्यक्रममा विभिन्न ६० देशका साथीहरुको सहभागिता थियो । म विदेशी सहकर्मीहरुसँग बैंककको सडकमा घुमिरहेको थिएँ । विदेशीसँग हिडिरहँदा धेरैले मलाई थाइ युवती नै ठानेँ । मसाज सेन्टरअघि उभिएकाहरुले ‘ए तैले त विदेशी चिन्दोरहेछस्, ल्याइदेन’ भन्थेँ । मेरो स्वभाव फेरि सबैसँग साक्षात्कार गर्दै हिड्ने थियो । त्यहीबेला मैले थाइ डान्स पनि हेरेको थिएँ ।
![](https://thailandnepal.com/wp-content/uploads/2024/02/Indrira-Ranamagaer-6-1024x681.jpg)
थाइल्याण्ड अर्कै खालको देश होला भन्ने लागेको थियो तर त्यहाँ पनि मैले राम मन्दिर भेटेँ । सुनैसुनले बनेका गुम्बाहरु सुन्दर लागेको थियो । त्यसपछि यही साल अमेरिकाबाट फर्किएर अर्को कार्यक्रमका सिलसिलामा थाइल्याण्ड पुग्ने अवसर मिलेको थियो । त्यहाँको जेल भ्रमण गरेका थियौं । धेरै नेपाली त्यहाँको जेलमा परेको भेटेको थिएँ । तर, बन्दीहरुले मलाई नेपाली होइन, थाइ युवती नै ठानेँ । जेलको लाइब्रेरी भिजिट गरेँ । महिला बन्दीलाई २४ सै घन्टा लाइब्रेरीमा गएर पढ्न मिल्ने रहेछ । नेपालको जेलमा त्यो स्तरको स्वतन्त्रता छैन ।
![](https://thailandnepal.com/wp-content/uploads/2024/02/Indrira-Ranamagaer-4-1024x768.jpg)
पाँच दिनपछि आयोजकले राखेको होटलबाट म निस्कन पर्ने भयो । समय सकिएपछि म ५ सयको भाटको सस्तो होटलमा गएर बसेको थिएँ । तर, त्यहाँको वातावरण पनि अर्कै खालको महसुस भयो । थप दुइ रात सस्तो होटलमा बसेँ, एक्लै ट्रेन चढे, सस्तो कपडाहरु किनेँ । मोबाइल किन्न जाँदा धेरैजसो सेल्सपर्सनहरु नेपाली भेटेको थिएँ । म्यानमारबाट आएका नेपाली भाषीहरु थुप्रै देखेको थिएँ । साह्रै ‘फ्रेन्ड्ली’ लाग्यो उहाँहरु । फाइभस्टार होटलको भन्दा मलाई स्ट्रिट फुड मिठो लागेको थियो । थोरै पैसाले पनि धेरै अघाएको याद छ ।
![](https://thailandnepal.com/wp-content/uploads/2024/02/Indrira-Ranamagaer-3-1024x498.jpg)
यसपछि पनि थुप्रैपटक कार्यक्रममा पुगेँ । तर, कहिल्यै आफ्नो खर्चले घुम्नेगरी गइनँ । सधैँ कुनै न कुनै कार्यक्रममा सहभागी हुने सिलसिलामा नै पुगेँ । क्रु इन्टरनेसनलको कार्यक्रममा जाँदा मेरो छोरी पनि लिएर गएको थिएँ । साह्रै मनप¥यो रे थाइल्याण्ड । उसको सबैभन्दा मनपर्ने देश नै थाइल्याण्ड रे । त्यहाँको मौसम नै मनपर्छ रे । अस्ती भर्खर पनि गएकी थिइ ।
![](https://thailandnepal.com/wp-content/uploads/2024/02/Indrira-Ranamagaer-2-1024x683.jpg)
थाइल्याण्डको समुन्द्र पनि पुगेँ म । फास्टफुड व्यापार कस्तो मज्जाले गरेको ! म त कायल भएकी थिएँ । ठ्याक्कै मिति थाहा छैन, एकपटक स्वास्थ्यसम्बन्धी कार्यक्रमहरु सबै पहाडतिर लग्यो भनेर बैंककमा आन्दोलन पनि भइरहेको थियो । तर, मलाईचाँही पहाडीभेगमा स्वास्थ्य कार्यक्रम लानु ठिकै हो , किन यसरी आन्दोलन गरेको होला भन्ने लागेको थियो ।
थाइ मसाज प्रख्यात रहेछ । थाइ महिलाहरुलाई विश्वले नकारात्मक दृष्टी हेरेको पनि सुन्ने गर्छु । तर, मसाज गर्नु गलत हो भन्ने लाग्दैन । स्वास्थ्यका हिसाबले पनि त्यो राम्रो हो भन्ने लाग्छ । थाइल्याण्डको राज्यले विभिन्न किसिमका मान्छेलाई कसरी बाँच्ने, जीवन चलाउने भनेर खुला कानुन बनाएको छ । त्यहाँको समाजले त्यसलाई सहजै स्वीकारेको छ, जुन मलाई मनपरेको थियो । त्यहाँ पनि कथा छ, व्यथा छ भन्ने हामीले बुझ्नुपर्छ ।
![](https://thailandnepal.com/wp-content/uploads/2024/02/10380303_10152400219251998_2264485867482625001_n.jpg)
सन् २००४ मा दिल्लीमा आयोजित एउटा विश्व सम्मेलनमा सहभागी हुँदा अमेरिकाबाट आएका एकजना पिएचडी गरेका डाक्टरले मलाई एउटा कथा सुनाएको म अझै सम्झन्छु । कथा थाइल्याण्डको एक युवतीको थियो, जो यौन व्यवसायमा लागेर बाआमालाई खर्च पठाउँथिन् । यो थाहा पाएर बाआमालाई एकदमै पीडा भएछ । ‘छोरी घर फर्क’ भनेर पत्र पठाउँदा ति युवतीले ‘अब धेरै ढिला भइसक्यो’ भनेर जवाफ पठाएको कथा सुनाउँदा मेरा आँखा रसाएका थिए । थाइल्याण्ड भ्रमणका क्रममा मैले म्यानमारबाट आउने नेपाली भाषी युवतीहरुलाई सुरुसुरुमा दुव्र्यव्यवहार हुने गरेको कथा पनि सुनेको थिएँ । नमज्जा लागेको थियो ।
कार्यक्रमका सिलसिलामा धेरैपटक थाइल्याण्ड मेरो ट्रान्जिट परेको छ । तर, कार्यक्रमका सिलसिलामा करिब आधा दर्जन पटक म थाइल्याण्ड पुगेको छु । थाइल्याण्डमा महिलाहरुको संघर्ष, बाध्यता र स्वतन्त्रताको कथाबाट हामीले धेरै सिक्न सिक्छौं भन्ने लाग्छ ।